नयाँ मानिसको प्रवेश निषेध, गाउँका नाकाबन्द



काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा पनि गाउँमा नयाँ मान्छे आउन थालेपछि विभिन्न ठाउँका नाका बन्द गरिएका छन् ।

सूर्यविनायक नगरपालिकाको परोपकार शहरी स्वास्थ केन्द्रबाट दधिकोट जाने मुख्य सडकमा सवारी साधन आवतजावतमा रोक लगाएको छ । सडकमा बाँसको तगारो राखेर सूचना टाँस गर्दै नयाँ मान्छेलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

सडकमा दुई सातादेखि नै रोक लगाएको हो । नयाँ मान्छेको ओहोरदोहोर बढेपछि कोरोना संक्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासीले लकडाउनका समयमा नयाँ मान्छे र जथाभावी सवारीसाधनको आवत जावत रोक्न यस्तो व्यवस्था गरिएको स्थानीयवासी सुरेश खड्काले जानकारी दिए ।

त्यसै गरी सूर्यविनायक नगरपालिका-५ कटुञ्जे लामडाँडा, भुजुटोल, सुशीला भैरवका स्थानीयवासीले लकडाउनलाई उल्लंघन गर्नेको सङ्ख्या बढेको भन्दै नाका बन्द गरेको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी साधन र प्रेसबाहेक अन्य सवारी साधन चलाउन नपाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ ।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलको विभिन्न नाकामा स्थानीयवासीले बन्द गराएको वडा अध्यक्ष किरण थापाले जानकारी दिए । उनले लकडाउनको व्यापक उल्लंघन भएको र नयाँ मान्छेको आवतजावत बढेको भन्दै स्थानीयवासीले आफ्नो गाउँटोलमा बाहिरका मानिसलाई प्रवेश निषेध गर्नुका साथै सवारी साधन बन्द गराएको बताए ।

लकडाउनलाई कडारुपमा कार्यान्वयन गराउन वडा कार्यालयलेसमेत प्रत्येक टोलमा १०-१० जनाका दरले स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । गुण्डुको भित्री टोल जाने सडकमा पनि तगारो हालेर बाटो बन्द गरिएको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको धेरै टोलमा नयाँ मान्छेको प्रवेशमा रोक लगाउनुका साथै सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।
त्यसैगरी चाँगुनारायण नगरपालिका-९ सौडोलमा पनि बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । सौडोलबाट खड्का गाउँ हुँदै जाने सडकमा एकतर्फीरूपमा जान दिए पनि फर्कन भने नदिने गरेका छन् । सञ्चारकर्मीको टोली समाचार सङ्कलनका क्रममा पुग्दा जान दिए पनि सोही मार्ग भएर फर्कन भने नदिएको हो ।

मध्यपुरथिमि नगरपालिका-१ जडीबुटीस्थित बिपी आँखा अस्पताल क्षेत्र आसपासमा काठमाडौं र भक्तपुर जोड्ने हनुमन्ते खोलाको फलामे पुलमा स्थानीयवासीले तगारो राखेर आवतजावतमा रोक लगाएपछि यसको व्यापक विरोध भएको छ । विरोधका कारण ८ दिनपछि प्रहरीको सक्रियतामा स्थानीयवासीले उक्त तगारो हटाएर आवतजावत सहज बनाएका छन् ।

अपरिचित नयाँ मान्छेको आगमन हुँदा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम भएकाले स्थानीयवासीले आफ्नो गाउँ टोल छिर्ने नाकामा यसरी तगारो राखेर सडक बन्द गराई प्रवेश निषेध गरिएको छ । सिपाडोलका अंशुम कार्कीले कोरोना संक्रमित एक जना नयाँ मान्छे गाउँ पसेमा सिङ्गो गाउँमा नै संक्रमण फैलिन सक्ने जोखिम भएकाले आफ्नो गाउँका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि बाटो बन्द गराउनु परेको बताए ।

स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर नै बाटो बन्द गराएको स्थानीयवासीको दाबी छ । सरकारले लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनुपर्ने हो तर लकडाउनको उल्लंघन गर्दै बाहिरबाट अपरिचित व्यक्तिको आवतजावत देखिन थालेपछि बाटोमा तगारो राखेर बन्द गराएको स्थानीयवासीको भनाइ छ ।

यसले सरकारले लागू गरेको लकडाउनको कार्यान्वयमा सहज बनाएको उनीहरुको दाबी छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहलाई जानकारी नदिई यसरी सडक बन्द गराउनु गैरकानूनी काम हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक बन्द गराएको कसैले उजुरी नदिएको जनाएको छ । सडक अवरोधले समस्या पर्यो भनेर स्थानीय तहमा पनि गुनासो आएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्