जनप्रतिनिधिको सेवा-सुविधाको बजेट राहत कोषमा



महोत्तरी: भङ्गाहा नगरपालिकाले जनप्रतिनिधिको सेवासुविधा शीर्षकमा विनियोजित गरिएको बजेट विपद व्यवस्थापन कोषमा जम्मा गरेको छ ।

नगर कार्यपालिकाको निर्णय अनुसार चालू आर्थिक वर्षमा जनप्रतिनिधिको सेवा सुविधाका लागि विनियोजित गरिएको ६० लाख राहत वितरणका लागि विपद व्यवस्थापन कोषमा जम्मा गरेको नगरपालिकाले जनाएको छ ।

यसअघि यस कोषका लागि विनियोजित २० लाख, जनप्रतिनिधिको सञ्चार, बैठक, भ्रमण र खाजाखर्चवापत विनियोजित ८० लाखमध्ये ६० लाख र संघीय सरकारबाट प्राप्त १५ लाखसहित अब विपद व्यवस्थापन कोषमा ९५ लाख जम्मा भएको नगरप्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।

“जनप्रतिनिधिको सेवासुविधाका लागि रु ८० लाख विनियोजित थियो”, उनले भने,“कोभिड–१९ सन्त्रास छाउनुअघि नै २० लाख खर्च भएछ, बाँकी सबै रकम विपद व्यवस्थापन कोषमा जम्मा गरेर राहत बाँड्ने निधो गरेका हौँ ।” अतिविपन्न परिवारलाई राहत वितरण गर्न, क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न र अन्य व्यवस्थापनमा रकम घट्न नदिने नगरप्रमुख साहको भनाइ छ ।

महोत्तरीसहित प्रदेश नं २ का स्थानीय तहमा अति विपन्नहरुको पहिचान र उनीहरुलाई राहत दिने कुरामा राजनीतिक दखलन्दाजी बढ्दा यो कार्यक्रम धेरैजसो ठाउँमा विवादित बनेको छ ।

अतिविपन्न परिवारको पहिचान नगरी राजनीतिक भागवण्डामा राहत कार्यक्रम लगिदा भङ्गाहासँगै सीमा जोडिएका धनुषाको बटेश्वर गाउँपालिकामा जनप्रतिनिधि र गरिबबीच झडपकै स्थिति बनेको थियो । अन्य ठाउँमा देखिएका विवादबाट शिक्षा लिँदै राहत वितरण गरिबको चुलो निभ्न नदिनमा केन्द्रित हुने भङ्गाहाका जनप्रतिनिधिको भनाइ छ ।

जारी लकडाउनमा भोकभोकै रहेका गरिब तथा विपन्नलाई चामल, दाल, नुन, खानेतेल जस्ता खाद्यान्न समाग्री वितरण गर्ने कार्य जारी राखिएको नगरप्रमुख साहले बताए । जनप्रतिनिधिका लागि नगरसभाले दैनिक भ्रमण भत्ता, सञ्चार खर्च, चियाखाजा र अतिथि सत्कारलाई छुट्याएको रकम यसपटक महामारी छल्न प्रयोग गर्ने निर्णय गरेको कुरालाई जिल्लाका बुद्धिजीवीले सराहना गरेका छन् ।

आपतविपदमा गरिब जनताका लागि भङ्गाहाका जनप्रतिनिधिले देखाएको उदारता अन्य ठाउँमा पनि अनुसरण गर्नुपर्ने बुद्धिजीवीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्