भरतपुर अस्पतालका सबै सेवा शुरु



चितवन: लकडाउनसँगै बन्द भएको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ ।
चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार आज बिहान १० बजेदेखि १२ बजेसम्म अस्पतालमा आएका बहिरङ्गका बिरामीलाई सेवा दिन थालिएको छ ।

बिहान ९ः३० देखि ११ बजेसम्म टिकट काट्ने र दुई घण्टा परीक्षण गर्न सकिने उनले जानकारी दिए । सामाजिक दूरी कायम गर्नका लागि अस्पतालले विभिन्न १४ विभागलाई फरक ठाउँ व्यवस्थापन गरेको छ । कतिपय पहिलेकै ठाउँ छन् भने कतिपय नयाँ स्थानमा व्यवस्थापन गरिएको छ ।

गत वर्षहरुमा यतिबेला दैनिक दुई हजार बिरामी बहिरङ्ग सेवामा आउने यस अस्पतालमा लकडाउनका कारण उपचारका लागि आएका बिरामी त्यसै फर्कनुपर्ने बाध्यता थियो । भरतपुर अस्पताललाई कोरोना रोगको दोस्रो श्रेणीका बिरामी उपचार गर्ने अस्पतालका रूपमा राखिएको छ । तिवारीका अनुसार हाल अस्पतालमा एक जना कोरोना रोगका संक्रमित भए पनि उनलाई विशेष ढङ्गबाट निगरानीमा राखिएकाले अन्य जोकोहीलाई खतरा छैन ।

अस्पतालले सेवा शुरु गरेसँगै पहिलो दिन १२० ले उपचार लिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । केन्द्रीयस्तरको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । पौडेलका अनुसार १ वर्षमा ३ लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् ।

काठमाडौंको प्रसूतिगृहपछि धेरै प्रसूति गराउने अस्पताल भरतपुर हो । गत वर्ष १३ हजार ५४५ जनाको प्रसूति यसै अस्पतालमा भएको थियो । न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको बहिरङ्ग सेवा नपाएपछि बिरामीले दुः ख पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्