प्रदेश २ मा २ हजार १ सय २१ को स्वाब संकलन, ९ सय ६७ को नेगेटिभ, ९ को पोजेटिभ



जनकपुरधाम : प्रदेश २ मा मंगलबारसम्म २ हजार १ सय २१ जना कोरोनाभाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परीक्षण गरिएको छ ।

ती मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ९ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ हजार १ सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ८ सय ३८ बेड क्षमताको १ सय ७८ वटा क्वारेन्टाइनमा १ हजार ४ सय ९५ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले १ हजार ७ सय ६८ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ४८ बेड क्षमताको आईसोलेसनमा १६ जना भर्ना रहेको उनले बताए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ३ जना, महेन्द्र गेनाई अस्पताल सिरहामा १ जना, सिमरास्थित अस्थायी उपचार कक्षमा २ जना, रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा ७ जना र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ३ जना गरि कुल १६ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्