सचिवालयको एजेन्डा नै ‘स्थायी कमिटी बैठक’



काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बालुवाटारमा आफू निकटका सांसदहरूसँग अति लचक भएर अध्यादेश फिर्ता गर्दा पनि नैतिकताको कुरा उठाउँदै राजीनामा मागेर षड्यन्त्र गरिएको गुनासो सुनाए । ‘मेरो भेटघाटको ७० प्रतिशत समय यिनीहरू (नेकपा सचिवालयका नेता) को गुनासो सुन्न र चित्त बुझाउनमै गयो, १० थरी कुरा गरेर मलाई अघि बढ्न पनि दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद महेश बस्नेतले भने, ‘हाइलेभलमा कुरा गर्दागर्दै तपाईंहरूसँग भेट्न पनि पाइएन, अब तपाईंहरूको सुझावअनुसार चल्छु ।’

बस्नेतका अनुसार उक्त छलफलमा उपस्थित अधिकतर सांसदले कत्ति पनि नझुकेर जतिसुकै कडा कदम चाल्नसमेत पछि नपर्न सुझाव दिएका थिए । यता वरिष्ठ नेता माधव नेपाल समूहसँगको छलफलमा कुरा नमिलिरहेको र उता सांसदहरूको आडभरोसा रहेका बेला नेकपा अध्यक्ष ओलीले मंगलबार बोलाउने भनिएको पार्टी सचिवालय बैठकसमेत आह्वान गरेनन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री भेट्न पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहालसंँग पनि ओलीले यही आशयको कुरा गरेका थिए । उनले दाहालसँगको भेटमा कसैको दबाब आउँदैमा आफूले सरक्क कुर्सी छाडेर नहिँड्ने बताएको उनीनिकट स्रोतको भनाइ छ । ‘पहिले अध्यादेश फिर्ता लिनुस् भन्ने, पछि फेरि राजीनामा दिनुस् भन्ने,’ ओलीको भनाइ उद्धृृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यो कहाँको नैतिकताको कुरा भयो, तपाईंहरूले मिलेर मलाई हटाउन षड्न्त्र गर्नुभएको हो ।’

करिब २ घण्टा चलेको छलफलमा प्रधानमन्त्री ओलीले विषयवस्तु अलिकति मत्थर नहुँदासम्म पार्टीका कुनै पनि संगठनको बैठक आह्वान नगर्न प्रस्ताव गरेका थिए । दाहालले भने बैठक बोलाउन दबाब नै आएकाले एकछिनका लागि भए पनि आह्वान गर्नुपर्ने तर्क राखेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि बिहान दाहाल र वरिष्ठ नेता नेपालका बीचमा नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो । उक्त छलफलमा नेपालले प्रधानमन्त्रीले आफूले सृजना गरेको समस्याको निकास आफैंले दिनुपर्ने बताएका थिए । ‘मेरो अडानमा म टसको मस छैन, ओलीजी बैठक बोलाएर जवाफ दिन तयार हुनुपर्छ,’ दाहालसँग नेपालले भनेका थिए । त्यसपछि दिउँसो बालुवाटार पुगेका दाहाल र ओलीबीच बैठक बोलाउने सहमति भएको हो । बुधबार साँझ ५ बजे बस्ने सचिवालयको मूल एजेन्डा नै पार्टीको स्थायी कमिटी बैठक हुने सचिवालय सदस्य झलनाथ खनालले बताए । ‘प्रधानमन्त्रीको कामकारबाहीबारे स्थायी कमिटी सदस्यहरूले जवाफ खोजिरहेका छन्,’ खनालले कान्तिपुरसँंग भने, ‘हामी छलफल गरेर बैठकको मिति तय गर्छौं ।’

सचिवालय बैठक नै तत्काल डाक्न नहुने मनस्थितिमा रहेका प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकका लागि सजिलै तयार हुने देखिएका छैनन् । त्यसको संकेत स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पनि गरेका छन् । ‘पार्टीमा समस्या आइपर्छन्, मतभेद हुन्छ, ती मतभेद अनौपचारिक रूपमा छलफल गरेर एक किसिमको सहमति जुटेपछि स्थायी कमिटी बैठक बोलाउनु उपयुक्त हुन्छ,’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने, ‘परिस्थिति तातो भएका बेला बैठक बस्दा सही परिणाम दिन्छ भन्न सकिन्न ।’ ज्ञवालीले एउटा विषयलाई लिएर पार्टी विभाजनसम्मबारे छलफल चल्नु दुःखद भएको बताए ।

स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने पार्टीको नेतृत्व परिवर्तन हुँदैमा पार्टी विभाजन हुन्छ भनेर बुझ्नु उपयुक्त नहुने बताए । ‘हामीले प्रधानमन्त्रीको चाहना के हो र उहाँले निकास दिन के उपाय ल्याउनुहुन्छ, उहाँकै मुखबाट सुन्न चाहन्छौं,’ भुसालले भने ।

स्थायी कमिटी सदस्यहरूको चर्को दबाबका कारण अहिले सचिवालय बैठक मात्रै गर्ने स्थिति नरहेको नेता खनालले बताए । त्यसैले बुधबार साँझको सचिवालय बैठकमा ओली र उनीइतरका पक्षहरूबीच रस्साकस्सी हुने देखिएको छ । अहिलेसम्मका ‘वान टु वान’ बैठकहरूमा ओलीले अध्यादेश गल्ती भएर फिर्ता गरेको भन्दा पनि नेताहरूको आग्रहमा फिर्ता गरिएको भन्दै त्यो विषयलाई अरू धेरै नचर्काउन आग्रह गरिरहेका छन् । उनले सोमबार साँझ सांसदहरूको छलफल र मंगलबार दिउँसो दाहालसँगको भेटमा पनि बरु जस्तोसुकै परिस्थिति सामान गर्ने तर नझुक्ने संकेत गरिसकेका छन् ।

ओलीसँगको छलफलपछि दाहाल मंगलबार साँझै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका थिए । त्यहाँ पनि दाहालले गौतमको अहिलेको पोजिसन के हो भनेर बुझेका थिए । ‘प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने आफ्नो अडानबाट विचलित नभएको वामदेव कमरेडले प्रचण्ड कमरेडलाई बताउनुभयो,’ गौतमनिकट स्रोतले भन्यो । गत ११ गते गौतमकै निवासमा भएको सरकारबाहिर रहेका सचिवालय सदस्यहरूको भेलाले अब ओलीले काम गर्न नसक्ने निष्कर्ष निकालेका थिए । त्यहीअनुसार गौतमले ओलीलाई ‘अब तपार्इं आराम गर्नुस्’ पनि भनेका थिए । ‘भैंसेपाटी भेलाकै स्पिरिटअनुसार एजेन्डा अघि बढ्छन्,’ एक सचिवालय सदस्यले भने ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबीचमा उठेका सबै विषय बैठकका एजेन्डा बन्ने बताए । ‘धेरै खालका कुरा उठेका छन्, गम्भीर समीक्षा गरिन्छ,’ उनले भने, ‘समस्याको निकास के हुन्छ भन्ने त कुरा हुन्छ नै, पार्टी एकताको रक्षा कसरी गर्ने भन्ने विषय पनि आउलान् ।’

प्रत्येक गुटमा दुई धार
अध्यादेश प्रकरणका कारण नेताहरूबीच विवाद बढेपछि नेकपाभित्रका विषेशगरी तीनवटा गुटमा आ–आफ्नो हिसाबकिताब चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालका तीनवटा गुटभित्रै नेताहरू दुई धारमा देखिएका छन् । तीनवटै गुटमा एकथरी नेताहरू आफ्नो अडानबाट टसको मस नभई अगाडि बढ्नुपर्ने धारणा राख्छन् भने अर्काथरी पार्टी एकतालाई जोगाउन मिलेर जानुपर्ने धारणा राख्छन् । झन्डै एक सातायता चलेको यो रस्साकस्सीमा नेताहरूले औपचारिक रूपमा आफ्नो गुट परिवर्तन भने गरेका छैनन् ।

ओली समूहमा एकथरी नेताहरू यो समयमा सरकार बदल्ने खेल खेलेको भन्दै आक्रोशित छन् । उनीहरूले दाहाल र नेपालले जे कदम चाल्छन्, त्यसको सामना गर्नुपर्ने धारणा राखिरहेका छन् । प्रधानमन्त्री ओली स्वयं पनि आफूले अध्यादेश फिर्ता लिइसकेको अवस्थामा त्यसैलाई मुद्दा बनाएर भिड्न खोजेको भन्दै आउन सक्ने सबै चुनौती सामना गर्न तयार रहेको आफूनिकट नेताहरूलाई बताइरहेका छन् । सोमबार सांझ आफूनिकट सांसदहरूसँगको छलफलमा ओलीले आफ्नो सदासयतालाई नमाने परिस्थिति जे पनि हुन सक्ने धारणा राखेका थिए । तर ओली समूहभित्रका महासचिव विष्णु पौडेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेता कमीकमजोरी भए समीक्षा गरेर जानुपर्ने तर सरकार फेर्नका लागि आउने विकल्पलाई रोक्नुपर्ने पक्षमा छन् । एकअर्काविरुद्धको मोर्चाबन्दीलाई केही मत्थर पार्नुपर्ने उनीहरूको धारणा छ ।

नेपाल समूह अहिले अध्यक्ष पुष्पकमल दाहालसँग नजिक छ । तर नेपाल नेतृत्वको पूर्वसमूह यथावत् रहेकाले उनीहरूबीच पनि छुट्टाछुट्टै समीक्षा हुने गरेको छ । यो समूहभित्र स्थायी कमिटी बैठक माग गर्दै हस्ताक्षर गर्ने नेता ९ जना छन् । उनीहरू बैठक बोलाउने, ओलीको विकल्प खोज्नेदेखि अहिले कुनै पनि हालतमा ओलीसँग झुक्न नहुने धारणा राख्छन् ।

नेपाल धारका मन्त्रीसमेत रहेका नेताहरू घनश्याम भुसाल, योगेश भट्टराईले अहिले नै ओलीको विकल्प तयार गरी सरकार बदल्ने दिशामा जाने बेला नभएको धारणा राखिरहेका छन् । ओलीलाई सच्चाउने, उनले केन्द्रित गरेका केही अधिकारलाई पार्टीको सिस्टमबाट चल्ने गरी अघि बढाउने गरी जानुपर्ने उनीहरूको राय रहेको स्रोतले बताएको छ । अहिले नै आन्तरिक झगडा चर्काउँदा पार्टी समस्यामा पर्ने बुझाइ उनीहरूको छ ।

अध्यक्ष दाहालको समूहमा पनि धेरैजसो नेता ओलीको विकल्पमा जानुपर्ने धारणा राख्छन् । स्थायी कमिटीको बैठक बोलाउन माग गर्ने नेताहरूले आफ्नो अडान छाडेका छैनन् । सरकारमा सहभागी मन्त्रीहरू भने मिलेरै जानुपर्ने धारणा राखिरहेका छन् । उद्योगमन्त्री लेखराज भट्टले सोमबारदेखि ओलीको विकल्पमा खोज्ने बेला नभएको भन्दै सार्वजनिक रूपमा बोलिदिएपछि दाहालको समूहमा तरंग आएको छ । प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहका अन्य नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । मंगलबार उनले राष्ट्रियसभामा रहेका नेकपाका नेता दीनानाथ शर्मालाई भेटे । शर्माले पनि अहिले पार्टी एकताले संस्थागत रूपमा नलिइसकेको अवस्थामा एकले अर्काका विरुद्ध जाँदा त्यसले झन् ठूलो समस्या ल्याउने धारणा राखिरहेका छन् । पूर्वमाओवादी समूहमा त केही गरी ओली र नेपाल पक्षबीच कुनै समझदारी भयो भने आफ्नो समूह एक्लिने भय पनि छ । त्यसैले पूर्वएमाले समूहका ओली र नेपाल दुवैलाई समदूरीमा राखेर जानुपर्ने मत राख्ने नेताहरू पनि छन् । तीन समूहभित्र भइरहेको यस्तै हिसाबकिताबका बीचमा बुधबार सचिवालय बैठक बोलाइएको छ । यो बैठकमा हुने नेताहरूको प्रस्तुतिले नेकपाको जारी शक्तिसंघर्षले कुन मोड लिनेछ भन्ने टुंगो लाग्नेछ ।

ओलीले दाहालसँग भने, ‘पहिले अध्यादेश फिर्ता लिनुस् भन्ने, पछि फेरि राजीनामा दिनुस् भन्ने । यो कहाँको नैतिकताको कुरा भयो ? तपाईंहरूले मलाई हटाउन षड्यन्त्र गर्नुभएको हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्