जब कोरोना अस्पतालको सीसीटीभी फुटेज लिक भयो…



काठमाडाैं : कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो सार्वजनिक भएपछि भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालको किचलो सतहमा आएको छ । भरतपुर महानगरपालिकाले ७२ घण्टामा बनाएको उक्त अस्पताल चैत ७ देखि सञ्चालनमा आएको हो । चैत २१ मा भरतपुर अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो ।

सरकारी अस्पतालले वैशाख १ देखि त्यहाँको व्यवस्थापन सम्हालेको हो । त्यसअघि बुझबुझारथका क्रममा भएको सामान ओसारपसारको भिडियो दृश्यलाई ‘नियतवश अतिरञ्जित तरिका’ ले सार्वजनिक गरिएको व्यवस्थापन पक्षको दाबी छ ।

अस्पतालका सामान ओसारेको दृश्य सार्वजनिक भएपछि सत्यतथ्य छानबिन माग उठेको छ । नेपाली कांग्रेस चितवनले मंगलबार उक्त घटनाबारे छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

भरतपुर अस्पतालका कर्मचारी फणीन्द्र खनाल र सञ्जय बराल तथा महानगरका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले सामान प्याकिङ गरेको र बाहिर लगेको दृश्य भिडियोमा देखिएको छ । अस्पताल सञ्चालनमा आएसँगै कोरोना नियन्त्रण कार्यदल बनाइएको थियो । कार्यदलका सदस्य सचिवको आदेशअनुसार नै आफूहरूले काम गरेको तिवारीले बताए । ‘हामीले दिनरात खटेर काम गरेका हौं । काम गर्नुपर्ने निश्चित समय थिएन । कार्यदलले केही सामग्री लैजानु भनेपछि हामीले रातमा पनि निकालेर सम्बन्धित ठाउँसम्म पुर्‍याएको हो,’ उनले भने ।

कार्यदलका सदस्य सचिव भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी हुन् । कोरोना अस्पतालमा रहेका केही सामग्री कार्यदलमार्फत प्रयोगमा आउने गरी बाहिर राखिएको उनको भनाइ छ । ‘कोरोना अस्पतालका लागि किनेका सामग्री भरतपुर अस्पतालले व्यवस्थापन सम्हालेपछि पनि त्यहीँ रहनेछन् । केही सामग्रीहरू सहयोगका रूपमा प्राप्त भएका थिए, तीमध्ये ३० प्रतिशत झिकेर भरतपुरको कोराना नियन्त्रण कार्यदलमार्फत आवश्यक परेको ठाउँमा दिने निर्णयअनुसार केही सामान झिकिएका हुन्,’ डा. अधिकारीले भने । सीसीटीभीको फुटेजमा देखिएको सामान ओसारेको दृश्य त्यही भएको उनको दाबी छ ।

‘कार्यदलका सामग्री ओसारपसार र स्टोर गर्ने समय प्रक्रियाको सीसीटीभी फुटेज लिक भएको हो,’ कोरोना नियन्त्रण कार्यदलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार बसेको कार्यदल बैठकमा यो कुरा उठेपछि छानबिन गर्न भन्दै तीन सदस्यीय टोली पनि बनाएको विज्ञप्तिमा जनाइएको छ । बैठकले चितवन उद्योग संघका अध्यक्ष तथा कोरोना नियन्त्रण कार्यदलका सदस्य राजु पौडेलको संयोजकत्वमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका प्रतिनिधि रहने गरी छानबिन समिति गठन गरेको छ ।

कांग्रेस चितवनले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई बुझाएको ज्ञापनपत्रमा सर्वपक्षीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरिएको छ । कांग्रेसले भिडियोमा देखिएका कर्मचारीहरू निलम्बन हुनुपर्ने र अस्पतालको हालसम्मको खर्च विवरण पनि छानबिन गरिनुपर्ने माग गरेको छ । कार्यदलको बैठकमा सोमबार चैत महिनासम्म १ करोड २६ लाख रुपैयाँ खर्च भएको विवरण पेस गरिएको थियो ।

कर्मचारीहरूले सामन ओसार्दै गरेको भिडियो सार्वजनिक भएपछि आर्थिक अनियमितताको आशंकामा कोरोना अस्पतालमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयेगको टोलीले छापा मारेको छ । अख्तियार हेटौंडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले भिडियोमा आधारित रहेर टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको बताए । ‘हाम्रो टोलीले प्रारम्भिक विवरणहरू संकलन गरेको छ । भिडियो फुटेजमा आधारित रहेर हामीले त्यससँग सम्बन्धित कागजात हेर्नेछौं । अनियमिता भए नभएको अनुसन्धान प्रकृया सुरु भएको छ,’ रेग्मीले भने ।

कोरोना नियन्त्रण कार्यदलको सोमबारको बैठकले गठन गरेको छानबिन समितिका संयोजक राजु पौडेलले मंगलबार राजीनामा दिएका छन् । पौडेलले विज्ञप्ति जारी गर्दै समितिले काम सुरु गर्नुभन्दा पहिल्यै राजनीतिक हिसाबबाट वक्तव्य, टिप्पणी र सूचनाहरू सार्वजनिक भएकाले काम गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका छन् ।

उद्योग संघ गैरराजनीतिक संस्था भएको र छानबिन समितिमा रहेर काम गर्नु संघको भावनाविपरीत हुन जाने भएकाले संयोजकका रुपमा आफूले काम गर्न नसक्ने पौडेलको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्