संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री ओली



१७४ सदस्यीय संसदीय दलमा ७८ सांसद आफूसँग भएको र बहुमतका लागि थप १० सांसद जुटाउन सम्भव रहेको ओली समूहको विश्वास ९६ सांसद आफूसँग पहिले नै भएको र सरकार बन्ने अवस्थामा सयभन्दा बढी सांसद आफ्नो पक्षमा हुने प्रचण्ड–नेपाल समूहको दाबी

काठमाडौं : राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् । 

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्णय पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्‍याएर प्रचण्ड–नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ । 

‘संसदीय दलमा बहुमत पुग्छ भन्नेमा उहाँहरू ढुक्क देखिनुहुन्छ, जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ,’ मंगलबार बालुवाटार भेलामा सहभागी एक सांसदले नयाँ पत्रिकासँग भने ।

नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ । 

त्यति मात्र होइन, नेपाल समूहको मुख्य स्तम्भ मानिएका घनश्याम भुसाल र योगेश भट्टराई अहिले निष्क्रिय छन् । उनीहरू पनि तटस्थ रहने ओली समूहको विश्वास छ । नेपाल समूह मात्र होइन, पूर्वमाओवादी समूहलाई आकर्षित गर्ने ओलीको प्रयास निरर्थक भएको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्ने संकेत गरेका छन् । 

उद्योगमन्त्री भट्टले भने अहिले सरकारको नेतृत्व खोज्दा जनमतको अपमान हुने टिप्पणी गर्दै आएका छन् । उनी ओली समूहले सोमबार बालुवाटारमा बोलाएको भेलामा पनि सहभागी थिए । 

स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई मनाउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन् । रायमाझीले भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागत विधि र प्रक्रियाभन्दा बाहिर गएर समस्या समाधान खोजिए आफ्नो साथ नरहने बताए । 

‘पार्टी र सरकारमा देखिएका समस्या र अन्तरविरोध पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर विधिसम्मत, संस्थागत र सामूहिक रूपमा हल गर्नुपर्छ, त्यसभन्दा बाहिर गएर जुनसुकै तरिकाबाट गरिने हर्कत लाभदायी हुँदैन,’ रायमाझीले नयाँ पत्रिकासँग भने । 

गृहमन्त्रीका प्रमुख स्वकीय सचिव तथा नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘माहामारीविरुद्ध विश्वव्यापी जुधिरहेको मानव समुदाय अहिले अस्वस्थ, अमर्यादित बचकाना बेमौसमी हर्कतका विरुद्ध छन् । पहिला महामारीसँग लडेर बचाऊ, तत्पश्चात् अरू गरौँला भनिरहेको अवस्थामा त्यसको ठीक उल्टो धारमा हिँड्ने पार्टी, सरकार र व्यक्तिलाई समयक्रममा निक्कै ठूलो सजाय दिने निश्चित छ ।’ 

प्रचण्डले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सक्ने सम्भावनाका कारण नेपालकै गृहजिल्ला रौतहटका सांसद प्रभु साहलगायतलाई आफूतिर आकर्षित गर्न ओलीले कोसिस गरिरहेका छन् । अनुशासनको कारवाहीस्वरूप केन्द्रीय सचिवालयबाट स्पष्टीकरण सोध्न लगाएको भन्दै साह नेपालसँग रुष्ट छन् । नेपाललाई प्रधानमन्त्रीमा अघि सारिए आफू विपक्षमा उभिने संकेत उनले पार्टीका नेताहरूलाई दिइसकेका छन् । 

प्रचण्ड–नेपाल समूहका नेताले पनि सांसदहरूलाई ‘तयारी’ अवस्थामा रहन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सहज ढंगले बाटो खुला नगरे र दलको चुनावको सामना गर्ने सोच बनाए एक सय सांसद आफ्नो पक्षमा उभाउने प्रचण्ड–नेपाल समूहका दोस्रो तहका नेताहरूको तयारी छ । प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला सुरु गरेपछि प्रचण्ड र नेपालकै जानकारीमा निकट नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेलगायत नेताले पनि सांसदहरूलाई संगठित गर्ने जवाफी तयारी थालेका हुन् । संसद् सुचारु नरहेकाले नेकपाका केही सांसद जिल्ला पुगेका छन् । तीमध्येका एक सांसदले भने, ‘लगातार केन्द्रबाट सम्पर्क भएको छ । तयारी अवस्थामा रहनू भनिएको छ ।’

अस्थिरताविरुद्ध संगठित हुन सांसदहरूलाई ओलीको आग्रह

प्रधानमन्त्री ओलीले जनमतविपरीत मुलुकलाई अस्थिरतातर्फ लैजाने चलखेल भएको भन्दै त्यसविरुद्ध संगठित हुन सांसदहरूलाई आग्रह गरेका छन् । पार्टीका दुई दर्जन सांसदहरूसँग मंगलबारको भेटमा उनले पार्टी एकता बिथोल्ने प्रयास भएको बताए । 

‘राष्ट्र, राष्ट्रिय एकता, सामाजिक सद्भाव बिथोल्न खोज्नेहरूले मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजिरहन्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद खगराज अधिकारीले भने, ‘यतिवेला अस्थिरताका विरुद्ध जुध्नुपर्ने वेला पार्टी एकतालाई नै कमजोर बनाउने प्रयास भइरहेको छ, तपाईंहरू त्यस्तो चलखेल र षड्यन्त्रविरुद्ध एकताका साथ उभिनुहोस् ।’

समाजवाद हुँदै अघि बढ्ने उद्देश्यसहित पार्टी एकता भए पनि टुट–फुटका लागि भइरहेको चलखेलप्रति सचेत बन्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले पार्टी र मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको अर्का सांसद पदम गिरीले जानकारी दिए । 

वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएर पनि नेकपाभित्रको पछिल्लो विवाद समाधान खोज्ने विकल्पको चर्चा चलिरहेको प्रसंगमा सांसद अधिकारीले भने, ‘अध्यक्षको विकल्प खोज्दा हुन्छ । तर, जसलाई बनाउने हो उसलाई महाधिवेशनबाट बनाउँदा हुन्छ । महाधिवेशनबाट निर्वाचित अध्यक्षले नै पार्टी एकीकरण गरेका कारण उहाँले नै महाधिवेशनसम्म नेतृत्व गर्ने हो, उहाँ नेतृत्वमै नरहे पनि पार्टी एकतालाई निरन्तरता दिनुपर्छ भन्ने हो भने त्यस्तो एकताको कुनै अर्थ हुनेछैन,’ सांसद अधिकारीले भने ।

अनौपचारिक संवादपछि बुधबार सचिवालय बैठक तय तीनै पक्षका आ–आफ्ना तयारी

नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार करिब दुई घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिव विष्णु पौडेलसहितको शीर्ष नेताको संवादपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक तय भएको जानकारी दिए । 

अध्यादेश प्रकरणबाट विवाद तन्किँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् । प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला सुरु गरेपछि प्रचण्ड र नेपालकै जानकारीमा निकट नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलगायत नेताले पनि सांसदहरूलाई संगठित गर्ने तयारी थालेका थिए । तर, त्यस्तो अभियानले पार्टी फुटकै दिशामा जान सक्ने भन्दै मंगलबारको संवादपछि त्यस्तो तयारी रोकेर अन्ततः ओली र प्रचण्ड बैठक बोलाउन सहमत भएका हुन् । 

शंकर पोखरेलको आग्रह­ : पार्टी एकता जोगाउन नेतृत्व  गम्भीर र जिम्मेवार हुने नै छ 

पार्टी विवाद उत्कर्षमा पुगेका वेला नेकपा स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता जोगाउन नेतृत्वलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

आन्तरिक संवादमा सक्रिय पोखरेलले मंगलबार दिउँसो फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताको मूल मर्म सहमति र सहकार्य हो । लाखौँ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने नै छ ।’ 

नेकपा विवाद जटिल बन्दै गएपछि मुख्यमन्त्री पोखरेल शुक्रबार बुटवलबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटघाट सुरु गरेका थिए ।नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्