नेपाललाई माया गर्ने अधिकारकर्मी मीनाक्षी



नेपालमा सशस्त्रद्वन्द्वको अवधिमा मानवअधिकार उल्लघंनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी अग्रपंक्तिमा थिइन् । उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोध मात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदांगो पारिन् ।

उनी हुन् ह्युमन राइट्स वाचकी दक्षिण एसिया क्षेत्रीय निर्देशक मीनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकट रुपमा बुझेकी अधिकारकर्मी हुन् । हाल विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ फैलिएको सन्दर्भमा नेपालमा आमनागरिकको मानव अधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छन् । नेपाल प्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिविम्वित हुन्छ । उनले विगतमा नेपालस्थित भुटानी शरणर्थीको हकहितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।

अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले धार्मिक तथा जातीय विभेद र यौन हिंसाका विरुद्धमा सशक्त आवाज उठाउँदै आएकी छन् । भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको कमी, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा गम्भीर आवाज उठाएकी थिइन् । जम्मु, कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानव अधिकार उल्लघंनका घटनामा उनको स्वर सशक्त थियो । महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छन् ।

अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कुल अफ इकोनोमिक्सबाट समाज शास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छन् । सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनुअघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् । ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एसिया संवाददाताको रुपमाकार्य गरेकी थिइन् ।

माधव अधिकारी
स्वतन्त्र मानव अधिकारकर्मी
काठमाडौं, नेपाल

प्रतिक्रिया दिनुहोस्