वन अतिक्रमण गरिएका संरचनाहरु भत्काइए



कैलाली : कैलालीको अत्तरियामा विभिन्न सामुदायिक वन अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु भत्काइएका छन् । सव डिभिजन वन कार्यालय अत्तरिया र सामुदायिक वनका उपभोक्ताको संयुक्त पहलमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरु भत्काएका हुन् । गोदावरी नगरपालिका–१ स्थित चाहना सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन र भीमदत्त राजमार्गमा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

सामुदायिक वन क्षेत्रमा बनाइएका पक्की शौचालय, भौतिक संरचना बनाउन प्रयोग गरिने सामग्री र एक दर्जनजति बनाइएका टहरा खाली गरिएको उनको भनाइ छ । खाली गरिएको एक हेक्टर वन क्षेत्रमा तारबार लगाउने तयारी भइरहेको जनाइएको छ । उनले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपी अत्तरियालगायत विभिन्न स्थानमा वन अतिक्रमण तीव्ररूपमा भइरहेको जनगुनासो आउने गरेको बताए ।

सुदूरपश्चिम प्रदेशको प्रमुखद्वारका रूपमा रहेको अत्तरियास्थित गोदावरीलाई प्रदेशको राजधानी तोकेपछि सो क्षेत्रमा वन अतिक्रमण गरी भौतिक संरचना बनाउने क्रम बढेको स्थानीयबासिन्दाको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा प्रदेशको स्थायी राजधानी तोकेको थियो । प्रदेशको स्थायी राजधानी तोकिएसँगै सो क्षेत्रमा विभिन्न बहानामा वन अतिक्रमण भइरहेको नगरपालिका–२ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताए ।

कैलालीमा सुकुम्बासी, मुक्तकमैया, विद्यालय, क्याम्पस, मन्दिर, स्थानीय तहका वडा कार्यालयलगायतका नाममा वन अतिक्रमण भइरहेको बताउँदै उनले लकडाउन खुल्ने वित्तिकै अतिक्रमित वन क्षेत्र खाली गर्ने अभियान सञ्चालन गरिने बताए । जिल्लाका अत्तरिया, चौमाला, सुखड, भजनी, लम्की, हसुलिया, फूलबारीलगायतका स्थानमा वन अतिक्रमण बढी देखिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । कैलालीमा २५ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको डिभिजन कार्यालय धनगढीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्