बहराइनमा थप ७७ जना नेपालीमा कोरोना पोजेटिभ



काठमाडौं : खाडी मुलुक बहराइनमा थप ७७ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपाली कामदारको प्रमुख गन्तव्यका रुपमा रहेका बहराइनमा हिजो (मंगलबार) थप ७७ जना नेपाली कोरोना संक्रमित भएको बहराइनस्थित नेपाली राजदूताजासले जनाएको छ ।

राजदूतावासका अनुसार मंगलबार ७७ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । योसँगै बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या एक सय २६ पुगेको छ ।

बहराइन अधिराज्यमा हालसम्म संक्रमितहरुको संख्या एक हजार ५ सय ५६ पुगेको छ । यी मध्ये दुई जनाको अवस्था गम्भीर रहेको राजदूतावासले जनाएको छ ।

साथै कोरोनाबाट बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बहराइन सरकारले श्रमिकहरुको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्न श्रमिकलाई नयाँ आवासमा स्थानान्तरण गर्न शुरु गरेको राजदूतावासले जनाएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास तथा बहराइनको परराष्ट्र मन्त्रालयका अन्डर सेक्रेटरी हि डा. शेखा राना विन्त इसा विन दाइज आइ–खालिफाबीच भएको टेलिफोन सम्वादपछि नेपाली कामदारलाई सामाजिक दूरी कायम गर्न नयाँ आवासमा स्थानान्तरण गर्न लागिएको राजदूतावासले जनाएको छ ।

श्रमिकलाई स्थानान्तरण हुन नयाँ आवासमा श्रमिकहरूको स्वास्थ्य परीक्षण तथा संक्रमणको निगरानीका लागि स्वास्थ्यकर्मी (नर्स) रहने बहराइनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्