राहत वितरणमा सक्रिय स्थानीय तह



काठमाडौं : ललितपुरका ६ स्थानीय तह एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्ना क्षेत्रका गरिब र असाय जनतालाई राहत वितरणमा व्यस्त छन् ।

ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले एक चरणको राहत वितरण गरिसकेका छन् भने भौगोलिकरुपमा विकट मानिएका वाग्मती, महाङ्काल र कोञ्ज्योसोम गाउँपालिकाले हाल धमाधम राहत वितरण गरिरहेका छन् ।

विकट गाउँपालिकाको एक घरबाट अर्काे घर जान घण्टौ हिँड्नुपर्ने भएकाले तथ्याङ्क संकलन र सामग्री खरिद गरी ढुवानी गर्न केही समय खर्च भएको यहाँका जनप्रतिनिधिको भनाइ छ ।

महाङ्कालले १७ देखि १८ सय गाउँवासीलाई राहत वितरण गर्ने बताएको छ । महाङ्कालले दुई जनाभन्दा माथिको परिवारलाई २५ केजीको एक बोरा चामल, दुई केजी दाल, दुई लिटर भटमासको तेल र दुई प्याकेट नुन वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उनले भने, “यहाँका २ जनासम्मको परिवारलाई हामीले यसको आधा राहत वितरण गरिरहेका छौँ । गाउँपालिकाका २ हजार ३०५ प्रत्येक घरलाई राहत वितरण गर्दैछौ ।”

कोञ्ज्योसोमले यहाँका एक हजार ८०० देखि दुई हजार घरपरिवारलाई राहत वितरण गर्ने जनाएको छ । कोञ्ज्योसोमले दुई जनाभन्दा माथिको परिवारलाई एक बोरा चामल, तीन केजी दाल, दुई लिटर तेल र २ प्याकेट नुन वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए । उनले भने,“यहाँका दुई जनामुनिको परिवारलाई हामीले यसैको आधा खाद्यान्न सामग्री वितरण गरिरहेका छौैँ ।”

गोदावरीले दुई जनाको परिवार, दुईदेखि तीन परिवार र चारमाथिको परिवारलाई ५, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एक-एक प्याकेट नुन तथा दुई–दुई वटा साबुन वितरण गरिसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने,“हामीले करिब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गर्यौँ ।”

त्यस्तै, वाग्मतीले सात वडाका एक हजार ३०० घरपरिवारलाई राहत वितरण गरिरहेको छ । जतिजनाको परिवार भए पनि यस पालिकाले राहतमा ३० केजीको एक बोरा चामल, दुई प्याकेट नुन, दुईवटा साबुनलगायतका खाद्यान्न वितरण गरिरहेको छ ।

महालक्ष्मीले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, अति विपन्न, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक गुजारा चलाउन धौधौ भएका व्यक्ति तथा परिवार र असहायलाई एक चरणमा राहत वितरण गरिसकेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने,“हामीले दुई किसिमको नियम बनाएर एकदेखि दुईजनाको परिवार र दुई जनामाथिको व्यक्ति वा परिवारलाई पाँच र १० किलो चामल, एक–एक किलो दाल, एक-एक प्याकेट नुन, आधा र एक लिटर तेल वितरण गरिसकेका छौँ ।” महालक्ष्मीले १० हजार २०० श्रमिक जनतालाई राहत वितरण गरिसकेको श्रेष्ठले बताए ।

महानगरपालिकाले दुई किसिमको नियम बनाएर राहत वितरण गरिसकेको प्रवक्ता राजु महर्जनले बताए । उनले भने,“हामीले दुई जनासम्मका व्यक्ति वा परिवार र तीन वा तीनभन्दा बढी व्यक्ति वा परिवारलाई पाँच र १० किलो चामल, एक र पाँच किलो दाल, एक-डेढ किलो चिउरा, एक-एक प्याकेट नुन, २-३ वटा साबुन तथा आधा र एक लिटर तेल वितरण गरिसकेका छौं ।” महानगरपालिकाले ६४ हजार ९५२ व्यक्ति वा परिवारलाई राहत वितरण गरिसकेको महर्जनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्