महोत्तरीमा ४ जनाको मृत्यु



जनकपुरधाम: महोत्तरीको भङ्गहा नगरपालिकामा ४ जनाको मृत्यु भएको छ ।

भङ्गहा नगरपालिका वडा नं.७ मेघनाथ गोरहन्नाका ४० वर्षिय मोहन चौधरी, ५२ वर्षिय नथुनी चमार, ५४ वर्षिय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षिय गंगाराम सदाको मंगलबार साँझदेखि बुधबार बिहानसम्मको समयमा मृत्यु भएको भङ्गहा नगरपालिका वडा नं.७ का वडाध्यक्ष वासुदेवसिंह थारुले जानकारी दिएका छन् ।

विषाक्त मदिरा सेवन गरेका कारण उनीहरुको मृत्यु भएको वडाध्यक्ष थारुले बताए । मृतकहरु मध्ये गंगाराम सदाको शव जलाई सकिएको अवस्थामा प्रहरीको टोली पुगेको थियो । त्यस्तै लालबाबुलाई उपचारका लागि जनकपुरधाम ल्याउँदै गर्दा बाटोमा मृत्युु भएको थियो । ४ जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएको हो ।

शवलाई पोस्टमार्टम गरेपछि मात्र उनीहरुको मृत्युुको कारण पत्ता लाग्ने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु हुन सक्ने आशंका लागेपछि प्रहरीले मदिरा भट्टीहरुमा छापामारी गर्दा स्थानीय रामपुकार सिंहको घरमा मदिरा तयार गर्न राखेको ८ सय लिटर कच्चा पदार्थ भेटेको थियो ।

प्रहरीले ति कच्चा पदार्थ नष्ट गरेको छ । यसअघि गत चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा विषाक्त मदिरा सेवन गरेका कारण करिव २ दर्जन व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्