कोरोनाको कहर छ, हेल्लो सरकार ! खै ‘हेलो सरकार’



काठमाडौं : विश्व अहिले कोरोनाको कहरबाट त्रस्त छ । विश्भरि नै फैलिएको यो महामारीको स्वास्थ्यमा पर्ने प्रभाव त छँदै छ यसको समाजिक, आर्थिक तथा राजनैतिकमा पनि प्रभाव परेको छ । विश्व कोरोनासँग जुध्दै छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको ३७ दिन पुगेको छ ।

तर, नेपालमा भने कलडाउन यता बजारमा कालोबजारी बढेकोदेखि अस्पतालले बिरामीको उपचार गर्न नमानेको लगायतको जनगुनासो बढेका छन् ।

गुनासो सम्बोधनका लागि नै खडा गरिएका सरकारी संयन्त्र भने यो परिस्थितिमा निस्क्रिय छन् ।

कुनै बेला निकै प्रभावकारी भएको प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेल्लो सरकार अहिले कहाँ भनेर खोज्नुपर्ने अवस्था भएको छ ।

प्रधानमन्त्री कार्यालय भित्रै रहेको हेल्लो सरकार कक्ष चार वर्ष अघिसम्म निकै सक्रिय थियो । दैनिक ८० देखि १०० वटा उजुरी आउथे । कर्मचारीलाई सेवाग्राहीका गुनासो सम्बोधन गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

तर, पछिल्ला २ वर्ष यता हेल्लो सरकार निस्क्रिय मात्र होइन् प्रभावहिन भएको छ । अहिले एक सय गुनासो आउन १५ दिन कुर्नुपर्छ । गुनासो सम्बोधन नहुने भएपछि आम नागरिकले यसलाई गुनासो गर्ने ठाउँको रुपमा लिन छाडेका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा एक सातायता गुनासा नै आएका छैन ।

जब कि लकडाउनका कारण सरकारले घर बाहिर ननिस्कन भनेको बेला गुनासो गर्ने र त्यसको सम्बोधनका लागि गरेको पहलबारे गरेको जानकारी दिने प्रभावकारी माध्यम भनेकै यस्ता समाजिक सञ्जाल हुन् ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहर बाँस्कोटाले हेल्लो सरकारमा ‘सिफ्ट’ मा कर्मचारी खटाएर २४ सौं घण्टा सञ्चालनमा ल्याउनुपर्ने बताउछन् ।

उनले भने–‘हेल्लो सरकारमा इमेल, एसएमएस, भाइबर, फेसबुक, ट्वीटर र म्यासेजलगायत जुनसुकै सामाजिक सञ्जालबाट पनि प्राप्त भएका सूचनालाई सम्बोधन गर्नुपर्छ । मुलतः यसले मिडिया सेन्टरको रुपमा निर्वाह गर्नुपर्छ ।’

लकडाउनका कारण अहिले हेल्लो सरकारमा काम गर्ने कर्मचारी कार्यालय गएका छैनन् । टेलिफोनबाट के कति गुनासा परे भन्ने जानकारीबारे कर्मचारी अनविज्ञ छन् ।

सरकारी कार्यालयले दिनुपर्ने सेवामा ढिला सुस्ती भए त्यसबारे गुनासो सुनुवाइका लागि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालिन मुख्य सचिव लिलामणि पौडेलको पहलमा २०६८ सालमा हेल्लो सरकार शुरु गरिएको थियो ।

जनताले प्रत्यक्ष सम्पर्क गरुन् भनेर पैसा नलाग्ने ११११ नम्बरको निःशुल्क फोन नम्बर समेत सञ्चालनमा ल्याइएको थियो । यस्तै इमेल तथा इन्टरनेटबाट पनि हेल्लो सरकारमा प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था गरिएको थियो ।

प्रधानमनत्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले समन्वय गर्दा केही समय हेल्लो सरकार प्रभावकारी पनि बनेको थियो ।

जनताका गुनासा सुन्ने र तत्काल सम्बोधन गर्ने योजनाका साथ उक्त निकाय स्थापना गरिएको भएपनि पछिल्लो दिनमा हेल्लो सरकार प्रभावहीन बन्न पुगेको छ ।

केहिँ वर्ष जन गुनासो सम्बोधनमा यो निकै प्रभावकारी माध्यम बनेको थियो । गुनासो सम्बोधन सक्रियताले यसप्रति जनविश्वास पनि बढेको थियो । तर, यस पछिका मुख्य सचिवले यसलाई प्राथमिता बाहिर राख्दै गएर र मुख्यसचिव लोकदर्शन रेग्मी आएपछि पूर्णता शिथिल बन्यो ।

अहिले त गुनासोनै सम्बोधन हुन छाडेपछि यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

‘अहिले हेल्लो सरकारले गरेको कामकारबाही प्रति म सन्तुष्ट छैन ।’ पूर्वसचिव बाँस्कोटाले थप्दै भने–‘म अहिले वीर अस्पतालमा छु । बेड खाली छ । मलाई भर्ना लिइएन भनेको ५ मिनेट भित्र सुपरटेंडरसँग कुरा गरेर बिरामीलाई भर्ना गराइएको थियो । यस अर्थ प्रधानमन्त्री कार्यालयको हेल्लो सरकार भनेको तत्कालै जनतालाई कुनै पनि प्रशासनिक सास्तिबाट मुक्ति दिन हेल्लो सरकार पुनः सञ्चालनमा ल्याउनुपर्छ ।’

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भारतबाट स्वदेश फर्किका नेपालीहरुको पहिचान गर्न चुनौती बनिरहेको बेला छ । साथै दैनिक ज्याला मजदुरी गर्ने नागरिकको समस्या समाधान गर्न हेल्लो सरकार सहयोगि हुन सक्छ ।

यसलाई जति सक्रिय बनायो उतिनै गुनासा आउछन् र सरकारको प्रभावकारिता बढाउन पनि मद्दत गर्छ । तर, प्रधानमन्त्री कार्यालय रहनेहरुलाई यस कुनै प्रवाह नरहेको प्रष्ट देखिन्छ ।

अहिले कोरोनाबाट संक्रमित व्यक्तिको संख्या हेर्ने हो भने ३१ लाख ४० हजार २ सय ८५ पुगेको छ भने यो अझै बढ्ने विश्व स्वास्थ्य संगठनले जनाइसको छ । यसको प्रभावमा अहिले विश्वको २ सय १० छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाका कारण २ लाख १८ हजार २८ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ५९ हजार ६ सय ३० जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । नेपालमा हालसम्म ५८ जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ भने १६ जना निको भएर घर फर्कि सकेका छन ।

प्रतिक्रिया दिनुहोस्