भौगोलिक जोखिमका ४ हजार २०४ भूकम्पपीडितलाई जग्गा



काठमाडौं: असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

८ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनः निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिए ।

भौगोलिकरूपमा पहिरो, बाढी लगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले पुनःनिर्माणका लागि जग्गा व्यवस्था गरेको हो । यसैगरी ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ । २७ वटा निर्माणाधीन छन् ।

विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनः निर्माण अन्तिम चरणमा छ । पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब गरी ३ खर्ब ८१ अर्ब खर्च भएको छ ।

कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीबाट बच्न एक महिनादेखि लकडाउन जारी रहेकाले पुनः निर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । कोरोनाबाट स्थिति सहज हुनासाथ पूर्ववत्रूपमा नै पुनः निर्माणका काम हुने विश्वास पनि प्राधिकरणले लिएको छ । कोरोनाका कारण जारी बन्दाबन्दीले पुनः निर्माण र पुनः स्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती भने थपिदिएको सहप्रवक्ता घिमिरेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्