राहत लिन गएका ठेला चालकको प्रहरीले फोडयो कानको जाली



जनकपुरधाम: जनकपुरमा राहत लिनका लागि लाइनमा लागेका एक जनालाई प्रहरीले निर्घात कुटपीट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ ले वितरण गर्न लागेको खाद्यान्न सामग्री लिन लाइनमा लागेको एक जनालाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पीडितले आरोप लगाएका छन् ।

राहतको लाइनमा रहेका भारत विहार राज्यकोे सुजित साहलाई प्रहरीले कुटपीट गरेको आरोप लगाइएको हो । जनकपुरधाममा लामो समयदेखि ठेला चलाएर आफ्नो गुजारा चलाउँदै आएका साहलाई लकडाउनले भोकै बस्नुपर्ने बाध्यता आएपछि राहत सामग्री लिन जनकपुरधामस्थित तिरहुतीया गाछी पुगेका थिए ।

पीडित साहले भने,‘राहतको बटाईरहेको कुरा सुनेर तिरहुतिया गाछीमा पुगेको थिएँ, प्रहरीले भिड नियन्त्रण गर्नका लागि एक्कासी आएर म माथि लाठी प्रहार गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दा मेरो टाउको र कानमा चोट लागेको छ ’ उनले भने,‘चोटले कानको जाली फुटेर सुन्ने क्षमता नै गुमाएको छु ।’

प्रहरीको लाठी चार्जबाट एक्कासी बेहोस भएपछि प्रहरीले उनलाई उठाएर मेडिकल सेन्टरमा पुर्याएको थियो । त्यहाँ सामान्य उपचारपछि औषधि दिई उनलाई घर पठाइएको पीडित साहले बताए । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले राहतको लाइनमा भीड्भाड भएपछि वडा अध्यक्षको निर्देशनमा सुजीतलाई हटाउन खोज्दा चोट लागेको बताए ।

सुजीत पहिले देखी नै रक्सी खाएर आएको र भीड्भाड बढेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीसँगै दुरव्यवहार गर्न खोजेको कार्कीले बताए । उनको खुट्टामा प्रहरीले लाठीले प्रहार गरेपछि लडेर उनको कानको बाहिरी भागमा सामान्य चोट लागेको तर कानको जाली भने नफुटेको कार्कीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्