बागलुङका वडा अध्यक्ष खनालको निधन



बागलुङ :आगलागीमा परी गम्भीर घाइते भएका जिल्लाको बरेङ गाउँपालिका-३ का वडा अध्यक्ष पूर्ण खनालको निधन भएको छ ।

काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको बुधबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर बजारमा रहेको खनालको पसलमा यही वैशाख ८ गते आगलागी हुँदा खनाल, उनकी श्रीमती रुपा र छोरा संजय घाइते थिए । सोही घटनामा परी खनालका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो ।

खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पुर्याइएको थियो । “उनको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो”, अध्यक्ष शर्माले भने, “शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।”

खनालकी श्रीमती र छोरा संजयको अवस्था भने सुधारोन्मुख छ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ । खनाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट वडा अध्यक्षमा निर्वाचित थिए । रासस

प्रतिक्रिया दिनुहोस्