दसैंमा खेलिने पिङ हराउँदै



पाल्पा : नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पीङ हालेर खेलिने चलन अहिले लोप हुँदै गएको हो । 

दशैँका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पीङप्रति चासो नै छैन । युवा पुस्ता पीङप्रति आकर्षित हुन नसक्दा पीङ खेल्ने संस्कृति नै हराउन थालेको हो । 

 

वर्षको एक पटक धर्ती छोड्नु पर्छ भन्ने मान्यताका कारणले पीङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पीङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पीङप्रति रुचि देखाउन छाडेका छन् । 

 

व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुङ्गका पीङ खेल्न पाइने भएपछि पीङप्रतिको रुचि कमजोर हँुदा दशैँ तिहारमा खेलिने पीङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । 

 

पाल्पा बगनाकाली गाउँपालिका–९ का कृष्ण भुसालले बाल्यकालमा लिङ्गे पीङ निकै खेलिने र रमाइलो हुने गरेको अुनभव सुनाए। उनले काठे पीङभन्दा लुठे पीङ खेल्दा रमाइलो हुने र सबै पीङ खेल्न आतुर हुने गर्दथे । भुषालले भन्नुभयो, “पहिला एउटा बस्तीमा एउटा पीङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन ।” 

 

बगनाकाली गाउँपालिका–६ यम्घाका रामप्रसाद दर्मले १५ वर्षदेखि पीङ खेल्न नपाएको बताए। पीङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । खरले बाटेर लिङ्गे पीङ बनाउने गरिएको अुनभव उनले सुनाए । 

 

पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ बागमतीका यमबहादुर सुनारले काठको पीङ देखिनै छाडे पनि लिङ्गे पीङ रामपुर क्षेत्रमा अझै देखिन्छ, पहिलाको तुलनामा विस्तारै हराउन थालेको सुनारले बताए।

 

युवा पुस्ताको पीङप्रति आकर्षित छैनन्, जसका कारण पीङ नै पहिलाभन्दा कम हालिने सुनारको भनाइ छ । काठ अभावमा काठे पीङ बनाउन सम्भावना नै नभएपछि लिङ्गे पीङ खेलेर मनोरञ्जन लिन रुचाउँछन् । 

सार्वजनिक स्थलमा भेटिने पीङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पीङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरु चिन्तित छन् । 

युवाहरू रोजगारीका लागि शहर तथा विदेश पलायन भएपछि पीङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्