नेकपा सचिवालय बैठकः एकअर्काप्रति आरोप र चर्काचर्की, अर्को बैठक २० गते



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । बैठकका बीचमा एकअर्कोलाई आरोप लगाएपछि चर्काचर्की समेत भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुले आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठकले कुनै निर्णय गर्न सकेन ।

विवादका बीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक कुनै निर्णय नगर्दै सकिएको छ । अर्को बैठक २० बैशाख (शनिबार) बस्ने नेकपाले जनाएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको बैठक २० बैशाखमा पुनः बस्ने गरी सकिएको बताए ।

बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको उनले बताए ।

‘आजको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुढृढिकरणको महत्व, सरकार र केही कम्रेडहरुले माग गर्नुभएको पार्टीको स्थयाी समितिको बैठकको बारेमा र यो सँग जोडिएका विषयसँग गम्भीर विचार विमर्श भयो’ श्रेष्ठले भने ।

बैठकमा नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल सहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितका नेताले पार्टी र सरकार सञ्चालनमा ओलीको कार्यशैली ठिक नभएकाले बिकल्प दिनुपर्ने बिषयमा आफ्नो कुरा राखेको एक सचिवालय सदस्यले बताए ।

ओली नेतृत्वको सरकारले हालै दुई अध्यादेश जारी र खारेज गर्ने निर्णयसंगै नेकपामा बढेको विवाद बैठकमा समेत छताछुल भएको छ । ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै दाहाल–नेपाल समुहले बिकल्प दिनमा ढिलाई भए पार्टीमा ठुलो दुर्घटना हुने चेतावनी दिएका छन् ।

पार्टी एकताको सम्पुर्ण काम अहिलेसम्म टुंगो लगाउँनमा ढिलाई गर्ने, सरकार सञ्चालन मनोमानी भएको उल्लेख गर्दै उनीहरुले ओलीको बैठकमै बिरोध गरेका छन् । विधान अनुसार पार्टीको बैठक नबस्ने मात्र नभई स्थायी कमिटीका सदस्यले बैठक माग गर्दा समेत बैठक छल्ने काम भएको आरोप उनीहरुले लगाए ।

बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले उनीहरुको आरोपलाई खण्डन गर्दै सरकारले ठिक तरिकाले काम गरिरहेको बताए । पार्टीको काम अगाडी बढाउँन अध्यक्ष दाहालको भुमिका पनि हुने भएकाले एकताको काम समयमै नसकिनुको दोषी उनी पनि समेत रहेको उनीहरुले बताए ।

अहिलेको अवस्थामा पार्टीको बैठक नियमित बस्न नसक्नुका पछाडी विभिन्न कारण रहेको उल्लेख गर्दै ओलीले स्थायी कमिटीको मात्रै नभई संसदीय दल देखी केन्द्रीय कमिटीको बैठक बस्ने बताए । तर सरकार सञ्चालन देखी सरकारका कामलाई प्रभावकारी बनाउँन सबैको सहयोग नपाएको गुनासो ओलीले बैठकमा गरेका छन् ।

एकले अर्कोलाई आरोप लगाएर घोचपेच गर्दै बोलेपनि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, महासचिव बिष्णु पौडेलले बीच बीचमा रहेर आफ्ना कुरा राखेका छन् ।

दाहाल–नेपाल समुहले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्ने दबाब सहित प्रस्तुत भएका छन् । तर ओली यि दुबै पदबाट राजिनामा नदिने बरु बैठकमा उठेका प्रश्नको फेस गर्न तयार रहेको भन्दै आफ्नो अडान कायमै रहेको उल्लेख गरेका छन् । दुबै समुहले आफुसंग संसदीय दलमा बहुमत रहेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्