कोरोनाले ढोरपाटनमा शिकार प्रभावित



काठमाडौं: विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड-१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ ।

ढोरपाटनमा शिकारका लागि हरेक वर्ष २ याम आरक्ष खुला हुने गर्छ । यस वर्ष भने कोरोनाको प्रभावले ढोरपाटन शिकार आरक्षलाई ठूलो असर परेको छ ।

आरक्षमा शिकारका लागि असोज-कात्तिक र चैत-वैशाख गरी वर्षमा दुई पटक बोलपत्र आह्वान गरिन्छ । आरक्षमा चालु वर्षको दोस्रो याममा शिकारका लागि बोलपत्र आह्वान गरिए पनि ढोरपाटनमा यस पटक कोही शिकारी नआएको आरक्षका सहायक संरक्षण अधिकृत रमेश यादवले बताए ।

पहिले पनि शिकारका लागि आरक्षमा अमेरिका र युरोपपका नागरिक आउने गरेका थिए । यतिबेला हवाई उडान बन्द छ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा गरिएको बन्दाबन्दीले शिकारी नआएको उनले बताए ।

चालु वर्षको दोस्रो यामका लागि ११ नाउर र ३ झारल शिकार गर्न पाउने सरकारी व्यवस्था थियो । शिकारीले ९ लाखदेखि १२ लाखसम्मको बोलकबोल गरेर एउटा नाउर मार्न पाउँ छन् । त्यसका लागि गत वर्ष चैत ४ गते बोलपत्र सम्झौता भएको थियो ।

ढोरपाटन आरक्षणमा शिकार खुला हुँदा वर्षेनी २ करोडभन्दा बढी राजस्व संकलन हुने गरेको छ । ढोरपाटनमा बन्दाबन्दीले यसपटक झन्डै १ करोड राजस्व गुमेको सहायक संरक्षण अधिकृत यादवले बताए । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा शिकारीले प्रतिस्पर्धाका आधारमा शिकार गर्न अनुमति पाउँछन् ।

गत वर्ष दोस्रो याममा एउटै नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार राजस्व उठेको थियो । “यस वर्ष पोहोरको तुलनामा केही बढी शिकारी आउने बेला भएको थियो, कोभिड -१९ ले प्रभावित भयोे”, उनले भने ।

हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालयन आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ समारिजलगायत कम्पनीमार्फत शिकारी ढोरपाटनमा आउने गर्छन् । ढोरपाटन शिकार आरक्ष रुकुम (पूर्व), म्याग्दी र बाग्लुङ ३ जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रुकुम (पूर्व)मा आरक्षको सबैभन्दा बढी करीब ६० प्रतिशत भूभाग रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्