विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै



काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ ।
उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताएका हुन् । उनले भने,‘हामीले आजभन्दा तीन महिना अघि मात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ ।’

महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिएका हुन् । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ । यसबीचमा कोविडको केही औषधिकाबारेमा पनि कुराकानी हुने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो ।

त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटकाबारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । यस महामारीको पछिल्लो तथ्यांक अनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्