मृत रतुवा मृगसहित २ जना पक्राउ



सप्तरी: सप्तरीमा गएराति रतुवा मृग मार्ने दुई जना पक्राउ परेका छन् ।

महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका-१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान शुरु गरिएको कार्यालयका प्रमुख सन्तोष झाले जानकारी दिए । अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानूनी कारवाही गरिने उनले बताए ।

मृत मृगलाई आज डिभिजन वन कार्यालय सप्तरी, महुली सवडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने जनाइएको छ ।

त्यस्तै शम्भुनाथ नगरपालिका-७, भङ्गहा वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्