जनकपुर बम काण्डको आठ वर्ष, लकडाउनका कारण बलिदानी दिवस मनाइएन



जनकपुरधाम: जनकपुर बम काण्डको आज आठ वर्ष पुरा भएको छ । २०६९ साल बैशाख १८ गते आजकै दिन आत्मीयताको पहिचान, स्वायत्तताको बोध र संवैधानिक सुनिश्चितताको माग गर्दै ‘हमरा चाही मिथिला राज’ नाराका साथ रङ्गमञ्चका कलाकार, साहित्यकार, समाजसेवीहरुले मिथिला आन्दोलनको अगुवाइ गरि जनकपुरधामको रामानन्दचोकमा धर्नामा बसेका बेला बम बिस्फोट गराइएको थियो ।

उक्त विस्फोटमा परि ५ जनाको ज्यान गएको थियो भने करिब ३ दर्जन व्यक्ति घाईते भएका थिए । सो बम बिस्फोटमा परि मिथिला आन्दोलनकी योद्धा एवं प्रतिभावान कलाकार रञ्जु झासहित सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणले सहादत प्राप्त गरेका थिए । सोही दिनको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाइने गरिन्छ ।

तर यस पटक भने कोरोना भाइरसको त्रासका कारण बलिदानी दिवस मनाउन नसकिएको तत्कालिन मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापरील जानकारी दिए । उनले आ-आफ्नो घरमै ति सहिदहरुको सम्झना गर्न मैथिली आन्दोलन अनुरागीहरुसँग आग्रह गरेका छन् ।

मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले मिथिला राज्य प्राप्तिका लागि मिथिला राज्य संघर्ष समितिद्वारा गरिएको शान्तिपूर्ण आन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरु रंजु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको उद्देश्य प्राप्तिका साथै सहिदहरुको सपना पूरा होस भन्ने कामना गरेका छन् ।

जनकपुर बम काण्डका दोषी पूर्वमन्त्री संजय साह ‘टक्ला’ सहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाइसकेको छ । जिल्ला अदालत धनुषाले साहसहित, मुकेश चौधरी, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण र रिपेन्द्र झालाई घटनाको ७ वर्ष पश्चात जन्मकैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्