महोत्तरीमा थप २ को मृत्यु, मृतकको संख्या ७ पुग्यो



जनकपुरधाम: महोत्तरीको भङ्गहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या ७ पुगेको हो ।

भङ्गहा नगरपालिका वडा नं.७ मेघनाथ गोरहन्नाका ४० वर्षिय मोहन चौधरी, ५२ वर्षिय नथुनी चमार,५४ वर्षिय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षिय गंगाराम सदाको मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा मृत्यु भएको थियो भने फेरि बुधबार राति स्थानीय ३२ वर्षिय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षिय सिताई महराको मृत्यु भएको भङ्गहा नगरपालिकाका मेयर संजिव साहले जानकारी दिएका छन् ।

१ साता अघि त्यसै टोलका ५५ वर्षिय महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो । एकसाताको अवधिमा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको मेयर साहले बताए । उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएपनि मृत्युको वास्तविक कारण अझै खुल्न सकेको छैन ।

बुधबारसम्म मृत्यु भएका पाँचैजनाको परिवारजनले दाहसंस्कार गरिसकिकेको छ भने सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको छ । उनीहरुको मृत्युको कारण पत्ता लगाउन एकजनाको शवलाई पोष्टमार्टमसँगै कोरोना परिक्षण गर्न लागिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मदिरा सेवन गरेका कारण मृत्यु भएको आशंका गरिएका केहि व्यक्ति तीनचार दिनदेखि मदिरा सेवन नगरेपनि मृत्यु भएको बताए । उनले भने,’पोष्टमार्टम र कोरोना परिक्षण पश्चात मात्र उनीहरुको कुन कारणले मृत्यु भएको हो भन्ने कुरा खुल्नेछ ।’ विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु भएको हुनसक्ने आशंका लागेपछि बुधबार प्रहरीले मदिरा भट्टीहरुमा छापामारी गर्दा स्थानीय रामपुकार सिंहको घरमा मदिरा तयार गर्न राखेको ८ सय लिटर कच्चा पदार्थ भेटेको थियो ।

प्रहरीले ति कच्चा पदार्थ नष्ट गरेको थियो । यसअघि गत चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा विषाक्त मदिरा सेवन गरेका कारण करिव दुई दर्जन व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्