ट्रेकिङ गर्न आएका विदेशी पर्यटकका भरिया अलपत्र



काठमाडौं: मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया सभा पोखरीमा अलपत्र परेका छन् ।

विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिंडेका भरिया लक डाउनका कारण संखुवासभाको सभापोखरी गाउँपालिका-२ बाह्रविसेमा अलपत्र परेका हुन् ।

उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दूई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ ।

उनीहरुसँग आएका विदेशी पर्यटक फर्किए पनि भरिया भने सभापोखरीमै अलपत्र परेका गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए । उनीहरु अहिले गाउँपालिकाको प्रहरी चौकी नजिकै चउरमा टेन्ट बनाएर बसेका छन् ।

लकडाउनले अलपत्र परेका भरियाहरु सात जना तनहूँ र आठ जना काठमाडौंमा छन् । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् । उनीहरुलाई गाउँपालिकाले राहत सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए ।

उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रविसेमै रोकिएको अध्यक्ष सुब्बाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्