बम विस्फोटमा मृत्यु भएका चार बालबालिकाको शव उठ्न सकेन, प्रहरीले सुरक्षा दिँदै



रोल्पा : बिहीबार साँझ रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको घटनास्थलमै मृत्यु भयो । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँका चार बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन् । मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार गाउँ नजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परि मृत्यु भएको हो ।

रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ । विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन । शवलाई रातभर प्रहरीले सुरक्षा दिने भएको छ ।

चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन ।

युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ । बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ ।

तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो ।

जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर अहिले घटनास्थल सिल गरिसकेको छ ।

नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ । नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ ।

गाउँको नजिकै विस्फोटको घटना भएको हो । विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए ।

एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन् भने गाउँमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्