ओलीको नयाँ प्रस्तावले नेकपामा तरंग, प्रस्तावहरू नमान्ने असन्तुष्ट पक्षको भनाइ



काठमाडाैं : प्रधानमन्त्री केपी ओलीको नयाँ प्रस्तावप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संशकित देखिएका छन्। संघीय संसद्का प्रतिनिधि नै नरहेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन्। दाहाल-नेपाल पक्षका नेताले त्यसलाई ‘हावादारी प्रस्ताव’को संज्ञा दिँदै स्वीकार गर्न नसकिने बताएका छन्।

अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा तीन प्रस्ताव पेस गरेका थिए। कोरोना संकट टरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने, आफूपछि गौतमलाई संसद्मा ल्याएर प्रधानमन्त्री बनाउने अनि वरिष्ठ नेता नेपाललाई पार्टी विधान संशोधन गरी तेस्रो अध्यक्ष बनाउने उनको प्रस्ताव थियो।

‘यो प्रस्ताव संविधानतः गलत छ। संविधानमा यसबारे कुनै प्रकारको प्रावधान छैन। यो स्थितिमा त्यो कसरी बन्छ ? , त्यो हावा कुरा हुन्छ’, दाहालनिकट स्थायी समिति सदस्य लीलामणि पोखरेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रियसभा सदस्य (गौतमलाई) बनाउन सचिवालयका नौ जनाले निर्णय गर्दा प्रधानमन्त्रीले नै कार्यान्वयनमा लैजानुभएन। अब राष्ट्रियसभामा नपुगेको र प्रतिनिधिसभामा नभएको व्यक्ति कसरी प्रधानमन्त्री बन्छ ? ’

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्ने अधिकार छैन। अपरिपक्व प्रस्ताव सारेर प्रधानमन्त्रीले किन ‘जग हसाइँ’ गरेको भनेर उनले प्रश्न गरे। ‘नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव झन् हास्यास्पद छ’, उनले भने। संसारमा तीन अध्यक्ष आफूलाई थाहा नभएको उनले बताए। ‘यस्ता कुरा वैचारिक, राजनीतिक तथा सांगठनिक क्षेत्रमा देखापर्ने अपरिपक्व सोच हो वा कसैलाई केही पदको प्रलोभन दिएर आफूअनुकूल बनाउने प्रयास हो’, उनले भने।

नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले तेस्रो अध्यक्षको प्रस्ताव नेपालले स्वीकार नगर्ने बताए। ‘उहाँले तेस्रो अध्यक्ष स्वीकार गर्नुहुन्न। जहाँसम्म वामदेवजीको कुरा छ, त्यसमा पहिले उहाँ (प्रधानमन्त्री)ले राजीनामा दिनुप¥यो। त्यसपछि मात्र को प्रधानमन्त्री बन्ने, के गर्ने भन्ने निर्णय पार्टीले लिने हो’, नेता पन्तले भने, ‘प्रधानमन्त्रीले पार्टीभित्र क्षेप्यास्त्र फाल्न खोज्नुभएको हो। त्यसले काम गर्दैन।’ उक्त प्रस्ताव पुस २३ यता नेपालसँगको आफ्नो गठबन्धन भत्काउन गरेको चालबाजी रहेको दाहाल पक्षको बुझाइ छ।

ओली पक्षका नेताले भने प्रधानमन्त्रीले विवाद समाधानको विकल्पका रूपमा गम्भीर सोचविचार गरी सचिवालयमा प्रस्ताव ल्याएको जिकिर गरेका छन्। ‘प्रधानमन्त्रीले सिरियस रूपमै यस्तो प्रस्ताव अगाडि सार्नुभएको हो। विवाद समाधानमा एउटा विकल्पमा छलफल त हुनै पथ्र्याे। त्यही क्रममा उहाँले यस्तो प्रस्ताव अगाडि सार्नुभएको देखिन्छ’, संसदीय दलका उपनेता सुवास नेम्बाङले भने। उनले बिहीबार ओलीलाई भेटेर सचिवालयका विषयमा छलफल गरेका थिए। ‘प्रस्तावमा थप छलफल भएको छैन’, उनले भने, ‘नेताहरू औपचारिक÷अनौपचारिक छलफलमा बस्ने कुरा गर्नुभएको रहेछ। हेरौं उहाँहरू (दाहाल-नेपाल) अब यस प्रस्तावमा कसरी आउनुहुन्छ ? ’

गौतमप्रति पनि शंका

ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि दाहाल-नेपाल पक्ष गौतमसँग पनि सशंकित देखिएको छ। गौतमले बैठकमा प्रस्ताव साँच्चै आएको हो भने स्वागत गर्ने भन्दै सचिवालयबाटै निर्णय गरेर जान प्रधानमन्त्री इमानदार देखिनुपर्ने धारणा राखेका थिए।

उनले बिहीबार आफूनिकट केही नेतासँग यस विषयमा प्रधानमन्त्रीको चाहना के हुन सक्ला भनेर छलफलसमेत गरे। ओलीको प्रस्ताव पार्टी अध्यक्षको प्रस्ताव भएकाले त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा नेताहरूले छलफल गर्नुपर्ने उनको भनाइ छ। त्यही आधारमा आफू अघि बढ्ने उनले बताए। नयाँ प्रस्तावबारे ओली समूह र दाहाल-नेपाल समूहका नेताहरूबीच पनि आन्तरिक छलफल सुरु भएको छ।

ओलीको आफ्नै तयारी

प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वसभामुख नेम्बाङ, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत नेतासँग छलफल गरे। ‘प्रधानमन्त्रीले पार्टीभित्रको विवाद कसरी मिलाउन सकिन्छ भनेर नयाँ प्रस्ताव अगाडि सार्नुभएको हो’, प्रधानमन्त्रीसँगको भेटपछि मुख्यमन्त्री गुरुङले भने, ‘अब उहाँहरू (दाहाल-नेपाल) अब कसरी आउनुहुन्छ। कहीं न कहीं नमिली सुखै छैन।’

दाहाल-नेपाल पक्ष अध्यक्ष या प्रधानमन्त्रीमध्ये एउटा पदबाट ओलीलाई जसरी पनि हटाउने गरी आए प्रधानमन्त्रीले त्यो कार्य सफल हुन नदिने आफूनिकट नेताहरूलाई बताइसकेका छन्। दाहाल-नेपालसम्म मिल्ने बिन्दुसम्म खोज्न, नमिल्दा नझुक्न ओलीलाई प्रोत्साहन गरिरहेका छन्।

‘प्रधानमन्त्रीले अध्यक्ष छाड्ने कुरा हँुदैन। राजनीतिक, सैद्धान्तिक तथा व्यावहारिक रुपले पनि यो मिल्दैन’, गुरुङले भने, ‘जनतासँग गरेको चुनावी प्रतिबद्धताका हिसाबले पनि मिल्दैन। अध्यक्ष भनेको महाधिवेशनबाट निर्वाचित पद हो। प्रधानमन्त्री भनेको जनताबाट निर्वाचित हो। त्यसकारण अहिले कुनै एउटा पद छाड्ने वा दुइटै छाड्ने भन्ने हुँदैन।’ ओलीले आफूलाई घेराबन्दीमा पार्न खोजेको र सरकारलाई काम गर्न पनि नदिएको भन्दै सबैलाई भागबन्डा नै चाहिएको भन्दै त्यसमा सचेत हुन सुझाएका थिए।

दाहाल-नेपाल फोन वार्ता

दाहाल र नेपालबीच प्रधानमन्त्रीको प्रस्तावबारे टेलिफोन संवाद भएको छ। त्यस क्रममा नेपालले ओलीको प्रस्ताव आफूले नमान्ने बताएका थिए। दाहालले पनि प्रस्ताव मानेर जान असम्भव रहेको जानकारी दिएर गठबन्धन थप बलियो भएको निकट नेताले बताए। दाहालले बिहीबार आफ्नो निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनालसँग पनि छलफल गरे। ‘उक्त प्रस्ताव स्वीकार्य हुँदैन, पहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। त्यसपछि अबको प्रधानमन्त्रीका विषयमा के गर्ने भनेर पार्टीभित्र छलफल गर्नुपर्छ। राजीनामा नदिने उट्याङपट्याङ प्रस्तावहरू अगाडी सार्ने कुरा उपयुक्त हुँदैन’, नेपालनिकट नेताले भने।

प्रतिक्रिया दिनुहोस्