जनकपुरका निजी विद्यालयका विद्यार्थीका लागि आजदेखि टेलिभिजन मार्फत ई-क्लाश



जनकपुरधाम: लामो लकडाउनको असर शिक्षा क्षेत्रमा परेको यथार्थतालाई मध्यनजर गर्दै निजी विद्यालयहरुले आ-आफ्ना बिद्यार्थीलाई अब टिभीको माध्यमले अध्यापन गराउन लागेको छ ।

निजी विद्यालयका बिद्यार्थीहरु अब घरमै बसेर अध्ययन गर्न पाउने छन् । जनकपुरधामवाट प्रसारित दुईवटा टेलिभिजनले प्रत्येक शिक्षकहरुको क्लासको प्रसारण गर्ने बताइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन र एनप्यावसनको संयुक्त प्रयासमा जनकपुरधामस्थित टाइम्स टेलिभिजन र जनकपुर टेलिभिजनबाट प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म शिक्षकहरुले विद्यार्थीलाई टिभीबाटै कक्षा संचालन गर्ने प्यावसन प्रदेश २ का सचिव विश्वलाल सिंहले बताए ।

कक्षा ९ र १० का विद्यार्थीहरुलाई बिहान ११ बजेदेखि १२ः ३० बजेसम्म र कक्षा ७ र ८ का बिद्यार्थीलाई १२ः ३० देखि २ बजेसम्म ई-क्लाश संचालन गरिने एन प्यावसन धनुषाका उपाध्यक्ष आशिष झाले जानकारी दिए । उनले सो समयमा सम्पूर्ण विद्यार्थीलाई कपी कलम लिएर टिभीको अगाडी बस्न आग्रह गर्दै अभिभावकहरुलाईसमेत आफ्ना बिद्यार्थीका लागि त्यस किसिमको वातावरण बनाई दिन अपिल गरेका छन् ।

भर्चुअल क्लाशको माध्यमले विद्यार्थीलाई नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा लगायतका मुख्य ५ वटा विषय अध्यापन गराइने उनले बताए ।

निरन्तर लामो समयसम्म पठन पाठन बन्द हुँदा बिद्यार्थीको मनस्थिती डाइभर्ट हुन सक्ने भएकाले हामीले ई-क्लाश संचालन गर्ने निर्णय गरेका छौं, उपाध्यक्ष झाले भने,‘पहिलो चरणमा कक्षा ७ देखि १० सम्मका बिद्यार्थीका लागि उपलब्ध गराइएको ई-क्लाशको सुविधा लकडाउनको समयअवधिलाई मध्यनजर गर्दै थप भएमा नर्सरीदेखि ६ कक्षासम्मका बिद्यार्थीका लागि समेत उपलब्ध गराइने छ ।’

प्रतिक्रिया दिनुहोस्