मृतक बालबालिकाका परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिश गरिने



बुटवल: प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी ४ बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । उनले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने बताए ।

त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कदै गर्दा विस्फोटमा परी ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो । मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँकाबारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरे ।

यसैबीच बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थल गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्