दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट



भद्रपुर : चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले शनिबार पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।

 

वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट वितरण गरिएको हो । 

 

झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ जानेआउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको छ । आयोजकले पैदलयात्रीलाई समेत पर्चा वितरण गरेका थिए । 

 

बिर्तामोडको पश्चिम बिसौनीमा दुबैतर्फबाट आवातजावत गर्ने सवारीसाधनलाई लक्षित गरी तीनवटा टोली तथा बसपार्कमा एउटा टोली बनाएर बिहान ६ बजेबाट उक्त अभियान सञ्चालन गरिएको छ । 

 

यसअघि गत असोज २ गते वीरता जेसिज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भको घोषणासहित एक हजार चालकलाई खादा लगाएर सम्मान गरिएको थियो भने स्टिकर टाँस, चकलेट र पर्चा वितरण तथा सडक कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्