जानकी नवमीमा मन्दिरमा केक काटेको होईन श्रद्धालुले चढाएको होः सहायक महन्थ दास



जनकपुरधाम: जानकी नवमीको अवसरमा जानकी मन्दिरमा केक काटिएको घटना सामाजिक सञ्जालमा विवादित बनेपछि जानकी मन्दिरले शनिबार पत्रकार सम्मेलन गरि खण्डन गरेको छ ।

शुक्रबार जानकी नवमीको अवसरमा केहि भक्तजनले कसैको जन्मदिन त कसैको विवाहको सालगिरहको खुशीयालीमा जानकी मन्दिरमा प्रसादको रुपमा खुवाले बनाईएको केक आफुलाई दिएपछि आफुले त्यस केकलाई तुलसी जलले शुद्ध गरि त्यहाँ उपस्थित रहेका केहि जनालाई बाँडेर बाँकी केक फेरि उनीहरूलाई नै फर्काईदिएको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

दासले जानकी मन्दिरले नभई श्रद्धालु भक्तजनले नै मिठाई स्वरुप केक भगवानलाई चढाएको स्पष्ट पारे । जानकी नवमीको अवसरमा मन्दिरको प्राङ्गणमा भएको बधैया गान र भण्डारालाई समेत केहि व्यक्तिले अशोभनीय नाम दिई सामाजिक सञ्जालमा गलत टिप्पणी गरेर जानकी मन्दिर र मिथिला संस्कृति उपर प्रहार गर्ने गलत नियत स्पष्ट देखिएको उनले जिकिर समेत गरे ।

सामाजिक सञ्जालमा जानकी मन्दिरमा प्रसाद स्वरुप केक चढाएको विषयमा गलत टिकाटिप्पणी हुन थालेपछि मन्दिरमा शुक्रबार केक चढाएका केहि व्यक्तिहरुले समेत रोष प्रकट गर्दै सकारात्मक टिप्पणी गरिदिनका लागि सबैसँग आग्रह गरेका छन् ।

जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले आफ्नो बैबाहिक बर्षगाँठको अवसरमा मन्दिरमा प्रसाद स्वरुप ब्रेड र खुवाले बनाइएको केक भगवानलाई चढाउनका लागि महन्त दासलाई दिएको बताए । उनले भने,‘म विगत ४ वर्षदेखि यहाँ केक चढाउँदै आएको छु । तर यस वर्ष मात्र सामाजिक सञ्जालमा केक चढाएको फोटो भाइरल भएपछि यसको गलत अर्थ लागेको छ ।’

त्यस्तै अर्का श्रद्धालु जनकपुरधाम उपमहानगरपालिका वडा नं.५ बस्ने गंगा देवी राउतले आफ्नो नातिनीको जन्मदिन जानकी नवमीको दिन नै रहेकोले सो दिन जानकी मन्दिरमा प्रसाद स्वरुप केक चढाएको बताइन् । उनले भनिन,‘जानकी हाम्रो लागि बहिनी र छोरी सरह हुन् त्यसैले हामीले मन्दिरमा खुवाले निर्मित केक चढाएर घर लग्यौं,’यसमा गलत के छ ? उनको प्रश्न थियो ।

त्यस्तै अर्का श्रद्धालु सिमा दत्तले भनिन,‘सितालाई हामी आफ्नो बहिनी मान्छौं त्यसैले त हो उनको जन्मदिनमा खुशी भएर केक चढायौं,यदि यो गलत हो भने भगवान रामलाई पनि मिथिलाबासीले आफ्नो ज्वाईं न मानुन र उनलाई पनि गाली न गरुन ।’

प्रतिक्रिया दिनुहोस्