फेरि १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६९ पुग्यो



काठमाडौं : नेपालमा फेरि १० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १० जनामा कोरोना पोजेटिभ भेटिएको बताए ।
आइतबार नेपालगञ्जमा ९ र वीरगन्जमा एक गरेर १० जना नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । भने अन्य ९ जना नेपालगञ्जका पाँच पुरुष र चार महिला रहेका छन् ।

विभिन्न ठाउँमा भेटिएका कोरोना संक्रमितमध्ये १६ जना डिस्चार्ज भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ।

प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्