माथिल्लाे तामाकाेसीले लक्ष्य भेट्टाउन तीन प्रतिशत मात्र



चरिकोट : दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लक्ष्य नजिक पुग्न लागेको जनाइएकाे छ। २०६८ सालबाट निर्माण सुरु गरिएको आयोजनाले लक्ष्य भेट्न तीन प्रतिशत मात्र काम बाँकी छ।

 

२०७४ असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्नेमा भूकम्प, तत्कालीन भारतीय नाकाबन्दी र लट–२ को हाइड्रोमेकानिकल ठेकेदारले काममा ढिलाइ गरेको भए पनि आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ।

 

विभिन्न चार लटमा निर्माण सुरु गरेको आयोजनाको ९७ प्रतिशत लक्ष्य हासिल गर्दा कुल ४० अर्ब रुपैयाँ भुक्तानी भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

 

आयोजनाको लट–१ अन्तर्गतको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिलतर्फको सम्पूर्ण कार्य सम्पन्न गरेको छ भने टेलरेस सुरुङको लाइनिङ ८५ प्रतिशत सम्पन्न गरेको आयोजनाका प्रवक्ता न्यौपानेले बताए।

 

लट–२ को हाइड्रोमेकानिकल इक्विपमेन्टअन्तर्गत भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले बाँधमा राखिने गेट, स्टप लगअन्तर्गतका कार्य ९५ प्रतिशत सम्पन्न गरेको छ।

 

त्यसैगरी तल्लो पेनस्टकको ढुवानी कार्य ९७ प्रतिशत सकिएको भए पनि जडान कार्य २८ प्रतिशत मात्र रहेकाले आयोजनाको समग्र प्रगतिमा ठूलो बाधा परिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए।

 

लट–३ मा पर्ने इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार एन्ड्रिज हाइड्रोले भूमिगत विद्युत् गृहमा ६ वटा टर्बाइन तथा सातवटा ट्रान्सफर्मर जडान कार्य गरिरहेको छ। पानीको मात्रा मिलाउने एमएसओभी मेसिन पनि जडान गरिरहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्