अमेरिकामा भयानक अाँधी, मृत्यु हुनेकाे संख्या १७ पुग्याे



एजेन्सी : अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन्। 

 

आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ। फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले 'मेक्सिको बीच पूर्ण रुपमा उजाड भएको' बताए । बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो। 

 

उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए । अमेरिकी सञ्चार माध्यमहरुले सहरमा एक जना वृद्धको मृत्यु भएको खबर प्रसारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो । 

 

सङ्घीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताए। 

 

'मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो, तर परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकाहरुमा खोजी कार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु हुन सक्ने खतरा छ,' उनले भने। 

 

मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको र त्यसलाई २५० किमि प्रतिघण्टाको हावाले उडाएर सयौं फिट टाढा पुर्याएर धुलोपिठो पारेको पाइएको छ। 

 

स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्य रुपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिसले अटेर गरेर घरमै बसेका थिए। 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको बताए। 'मानिसहरुलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने समेत थाहा छैन,' ट्रम्पले ट्वीट गर्दै भने, 'म अर्को साताको शुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं। हामी तपाईंहरुकै साथमा छौं।' 

 

फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको “माइकल” नामको आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ। 

 

पेन्टागनका अनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ । यहाँ एक सय हेलिकप्टर र एक हजार ८०० पानीमा चल्ने उपकरण परिचालन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्