नवलपुर जिल्ला अदालतले दसैं बिदा पनि सेवा प्रवाह जारी राख्ने



नवलपरासी : पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दसैं बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ।

 

जनतालाई बिदाको बेला बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ।

 

आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजयादशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदनउपर सुनुवाइ गरिने भएको छ।

 

यस्तै, दसैं बिदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यसमेत गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्