केराखेतीबाट गाउँकै मुहार फेरियो



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँका सबै कृषकले केराखेती गरेका छन् । करिब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ ।

धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केराखेती गरेको डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकहरूले बताए । यहाँका कृषकले केरा बेचेरै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने गरेका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केरा बगैंचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केराखेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए ।

‘यहाँका सबै कृषकले केराखेती गरेका छन्, गाउँको करिब १८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ, सापकोटाले भने, ‘खबराको मुख्य आम्दानीको स्रोत भनेकै केराखेती हो । उनका अनुसार विगत ३ वर्षदेखि यहाँका कृषकले व्यावसायिक केराखेती सुरु गरेका हुन् । करिब डेढसय घरधुरीको बसोबास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारीलगायत जताततै केराखेती गरेका छन् ।

खबराकी जाँगरिली महिला तारा कुँवरको जीवनस्तर पनि केराखेतीबाट नै फेरिएको छ । वार्षिक ३ लाख रुपैयाँको केरा बिक्री गर्दै आएकी कुँवरले केरासँगै तरकारी खेती पनि गरेकी छिन् । ‘वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केराखेती हो,’ कुँवरले भनिन् । करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दसपन्ध्र घारी केरा नलगाएको घर नै छैन । मानबहादुर थापा, बलबहादुर कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्र्याएका थिए । 

मजदुर अभावमा खाद्यबाली हुने जमिन बाँझो हुन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीय बलबहादुर कुँवरले बताए । खबराको केरा बेनीमा खपत हुन्छ । केरा बेचेर मासिक रु ५० देखि ६० हजार आम्दानी हुने कुँवरले बताए । दैनिक पाँच भारीका अनुपातमा खबराबाट बेनीमा केरा विक्रीका लागि ल्याउने गरेका छन् । पकाएको प्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरूले बताए् ।

बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित खबराको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनीनजिकै भएकाले कृषकलाई बजारको समस्या छैन । खबरामा उत्पादन हुन थालेपछि बेनीमा अन्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारीले बताए ।

बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा, एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाध्यक्ष हिराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि तीन लाख रुपैयाँ विनियोजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्