क्यान्सर अस्पतालको भरमा १५० होटल



चितवन: एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् ।

यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् । सोही ठाउँमा होटल सञ्चालन गर्दै आएका रेष्टुराँ व्यवसायी सङ्घ चितवनका अध्यक्ष दीपक ढकालले अस्पताल अगाडि मात्रै १४० होटल र १० वटा रेष्टुराँ रहेको बताए । चारदेखि ३२ कोठमासम्मका होटल सो ठाउँमा रहेका छन् । 

दैनिक दुई हजारभन्दा बढी क्षमताका ती होटलमा आफैँले पकाएर खानसमेत सुविधा छ । ढकालका अनुसार दैनिक रु १५० देखि रु एक हजारसम्मको कोठा होटलमा पाइन्छन् । ती होटल पूरै अस्पतालमा निर्भर छन् । ढकालले ती होटललाई वैज्ञानिक ढङ्गबाट वर्गीकरण गरी दरभाउ कायम गर्ने तयारी गरिएको बताए । 

विसं २०५७ मा अस्पताल स्थापनासँगै ती होटल सञ्चालनमा आएका हुन् । मुख्य बजार क्षेत्रबाट केही टाढा रहेकाले अस्पताल आउने अधिकांश बिरामी र आफन्त तिनै होटलमा बस्ने गरेको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले बताए । ठूला र व्यवस्थित होटल त्यहाँ नहुँदा कतिपय मुख्य बजार क्षेत्रका होटलमा पनि बस्ने गरेको उनले बताए । 

नेपालका सबै क्षेत्र र भारतबाट समेत बिरामी क्यान्सर अस्पतालमा उपचार गर्न आउने गर्दछन् । क्यान्सर रोगको उपचार गर्न लामो समय लाग्ने भएकाले बिरामी र आफन्त होटलमा बस्न बाध्य हुनुपर्दछ । अस्पतालभित्र बिरामी कुरुवा घर भए पनि सीमित क्षमता भएका कारण बाहिर बस्नुपर्ने हुन्छ । 

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले ती सबै होटल रेष्टुराँ अस्पतालको भरमा सञ्चालन भइरहेको बताए । आचार्यले कुरुवा घरमा १०० हाराहारी अट्ने भए पनि दैनिक ६०० नयाँ र पुराना ३०० बिरामी आउने भएकाले होटल रेष्टुराँमा निर्भर हुनुपर्ने बताए । आचार्यले होटल रेष्टुराँसँगै अन्य व्यवसाय, निजी अस्पतालसमेतलाई यही अस्पतालका कारण सञ्चालनमा टेवा पुगेको बताए । 

अस्पतालमा आउने सबै बिरामी क्यान्सरका नहुने भएकाले क्यान्सर नदेखिएका जिल्लाका अन्य अस्पतालमा जाने गरेको र क्यान्सर भएकालाई पनि अन्य समस्या देखिँदा यहीँका निजी अस्पताल र मेडिकल कलेजमा बिरामी पुग्ने गरेको उनले बताए । अस्पतालकै कारण समग्र जिल्लाको आर्थिक गतिविधिमा टेवा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । क्यान्सरका बिरामीको उपचार महँगो र लामो समय लाग्ने हुँदा पनि बिरामीले यहाँ ठूलो धनराशि खर्च गर्ने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्