सरकारको पार्टी फुटाउने र कुर्सी जोगाउनेभन्दा अरु कुनै काम छैन : राजेन्द्र महतो



काठमाडौं– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले झण्डै दुई तिहाईको सरकारबाट सुशासन , समृद्धि र संविधानले पूर्णता पाउला भन्ने अपेक्षा गरेपनि त्यसो नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा महतोले करिब दुई तिहाईको सरकारले दुई कौडीको काम नगरेको बताएका हुन् । बलियो सरकारबाट जनताले सुशासन, समृद्धि केही पनि नपाएको उनको भनाई थियो ।

प्रथम प्रतिनिधि सभाको बैठक सम्झँदै उनले जनताले सरकारबाट गरेको अपेक्षाहरूको स्मरण गराए । उनले भने – ‘छैठौं बैठक सम्म आइपुग्दा एउटा प्रश्न उठाउन मन लागेको छ जनताले के पाए ?

उनले संसद बैठकमा सरकारसँग प्रश्न गर्दै भने– ‘यो शक्तिशाली सरकारबाट नेपाली जनताले के पाए ? सुशासन भयो ? समृद्धि आयो ? संविधानले पूर्णता पायो ?’

त्यस्तै उनले कोरोना भाइरसको महामारीका कारण जनता संकटमा रहेको भन्दै उनीहरलाई बचाउन सरकारसँग आग्रह गरे । ‘जनता महामारीबाट मरिरहेको छ । उपचार पाएको छैन । स्वास्थ्यकर्मीले सामग्री पाएको छैन । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोर्ने, सांसद चोर्ने यही हो । पार्टी फोरेर सांसद चोरेर जनता खुसी हुन्छन् ? सांसद अपहरण गर्ने, गराउने के हो यो ?’ उनको प्रश्न थियो ।

उनले अहिले पार्टी फोर्ने सरप्राइज जनतालाई नचाहिएको भन्दै आफुहरूले पनि सरप्राइज देखाइदिएको बताए । ‘ल फोर, हामीले एकता गरेर सरप्राइज देखाइदियौं,’ उनले भने ।

साथै उनले कोरोनाको परीक्षण तीव्र रुपमा हुनुपर्ने माग गरेका छन् । उनले भने– ‘अहिलेसम्म कतिको परीक्षण गरियो? विदेशबाट आएकाहरू सबैको परीक्षण भयो? कछुवाको गतिमा परीक्षण हुँदैछ । सरकारले गर्नुपर्ने काम पनि गरिरहेको छैन ।’

उनले विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने व्यवस्था मिलाउन माग गरेका छन् । उनले भने– ‘सरकारको येजना नै छैन । हामीले भन्ने भेनेको प्रधानमन्त्री केपी ओलीलाई नै त हो । कानमा तेल हालेर सुत्नु भएन। सरकार लयक होस् वा नालायक हामीले अपेक्षा गर्ने सरकारबाट नै हो ।’

प्रतिक्रिया दिनुहोस्