काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले दियो थप ५ करोड



काठमाडौं : काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपैयाँ थप रकम प्रदान गरेको छ । शनिबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख मेयर बिद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई उक्त चेक हस्तान्तरण गरे ।

 

महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

 

त्यस रकमबाट प्रारम्भिक काठ किन्ने लगायतका काम भइसकेकाले थप रकम उपलब्ध गराइएको हो ।

 

रकम प्रदान गर्दै मेयर शाक्यले १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुनर्निर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने कुरा आफूले भन्दै आएको बताउँदै यसको प्रारम्भिक काम शुरु भइसकेको जानकारी दिए ।

 

‘भौतिक रुपमा देखिने प्रगति अबको प्रतिक्षा हो,’ मेयर शाक्यले भने,’पुननिर्माण समितिबाट आउँदो असार मसान्तभित्र भौतिक जग देखिने कार्ययोजना सुनेको छु । यसबाट उत्साहित भएको छु ।’

उनले काष्ठमण्डपको मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामाग्री सहज उपलब्ध नभएको बताउँदै तर पनि कार्ययोजना बमोजिम काम गर्नु पर्ने बताए ।

 

मेयर शाक्यका अनुसार माजु देग पुननिर्माणका लागि कार्यादेश दिन बाँकी छ । कुमारी घरको पुनर्निर्माण गर्ने विषयमा प्राविधिक परीक्षण भइरहेको छ ।

 

वडा २३ का अध्यक्ष मचाराजा महर्जनले बसन्तपुर क्षेत्रमा सम्पदा पुनर्निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भइसकेको जनाउँदै काम नसकिएको तर भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्वार, पुनर्निर्माण तथा मर्मत सम्भारको काम भइरहेको बताए ।

 

दरबार क्षेत्रसँग १९, २०, २३ र २४ गरी ४ वटा वडाको जोडिएका छन् । हामी आपसमा मिलेर काम गरिरहेका छौं, वडाध्यक्ष महर्जनको भनाइ थियो । यी ४ वटा वडाका ७३ वटा योजनाका विषयमा जानकारी गराउँदै वडाध्यक्ष महर्जनले १८ वटा योजना सम्पन्न भएको, १२ वटा काम हुँदै गरेको, ६ वटाको काम हुन बाँकी, ५ वटा खरिद प्रक्रियामा रहेको, ७ वटा परातत्व विभागसँग समन्वय भइरहेको, १६ वटाको लगत अनुमान र नक्सा तयार हुँदै गरेको विवरण सुनाए ।

 

महानगरपालिकाको वडा नं.२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति थियो । यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरुप, शैली र संरचना अनुसार पुुननिर्माण गर्ने/गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो ।

यसैबीच गएको २०७५ साल वैशाख १८ गते काठमाडौं क्षेत्र नं. ८ क का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुननिर्माण समितिले नगर कार्यपालिकामा पुनर्निर्माणका लागि प्रस्ताव पेश गरेको थियो ।

 

सोही प्रस्तावलाई आधार मानेर नगर कार्यपालिकाले २०७५ जेष्ठ २४ गते समितिको प्रस्तावबमोजिम पुननिर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो ।

 

सहमति पत्रमा, नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको राय परामर्श र काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी र नागरिक संघसंस्थाको सहयोग र सहभागितामा काष्ठमण्डपको पुननिर्माण गरिने कुरा उल्लेख छ ।

 

११ बुँदाको सहमति पत्रमा काठमाडौं महानगरलाई प्रथम पक्ष र समितिलाई दोश्रो पक्ष भनिएको छ काठमाडौं महानगरपालिकाको प्रतीकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत गराएर काम गर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।

 

यसरी तयार गरिने डिजाइन, ड्रइङ तथा स्पेसिफिकेसनलाई सर्वस्वीकार्य रुपमा गर्न/गराउन डा. प्रेमनाथ मास्केको अध्यक्षतामा ७ सदस्यीय विज्ञ समितिको व्यवस्था गरिएको छ । पुननिर्माण कार्यको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुख अध्यक्ष र उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्