सरकारलाई असफल भन्न मिल्दैन: श्रेष्ठ



गोरखा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले अब परिणाम देखिने गरी विकासका काम गर्ने बताएका छन् ।

 

शनिबार सिरानचोक गाउँपालिका–४ चोरकोटमा नेकपाको सिरानचोक गाउँ पार्टी कमिटीले आयोजना गरेको दसैं तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारलाई असफल भन्न नमिल्ने बताए।

 

‘नेपाली जनताले स्वभाविक रुपमा अहिलेको सरकारबाट ठूलो अपेक्षा गरेको छ,छोटो अवधिमा धेरै लाभ प्राप्त गरिहालौँ,धेरै विकास भइहालोस् भन्ने चाहाना सबैको छ,त्यसलाई नकरात्मक भन्न मिल्दैन’ श्रेष्ठले भने,‘विकासको काम गर्न आन्तरिक तयारीमा केहि समय बित्यो, अब परिणाम देखिने गरी काम हुन्छ।’ विकास र समृद्घिको कार्यभार पुरा गर्न सरकार केन्द्रित रहेको उनले बताए।

 

‘जलविद्युत,रेल,सडक,सिंचाई पर्यटन सबै क्षेत्रको विकास गरेर नुमना विकसित देश बनाउने गरी सरकारले काम थाल्दैछ,’उनले भने,‘संघ, प्रदेश र स्थानीय तहको संयोजनमा नमुना विकसित मुलुकको रुपमा परिणत गर्न गुणात्मक ढंगले काम गर्ने तयारीमा सरकार लागिसकेको छ।’ सरकार गठन भएको ७ महिनाको अवधिमा आँखाले देख्ने गरी विकासका काम नभएपनि राष्ट्रिय महत्वको विषयमा नीतिगत निर्णयहरु भएको उनले बताए।

 

गुणात्मक ढंगले विकास नभएको चिन्ता आम नागरिकमा रहेको भन्दै बितेको सात महिनामा सरकारले कसरी काम गरेको छ बुझ्न जरुरी रहेको श्रेष्ठको भनाइ छ। राष्ट्रिय स्वधिनताको रक्षा गर्नका लागि छिमेकी मुलुकसँग राम्रो सम्बन्ध बनाएको श्रेष्ठले बताए।‘स्वतन्त्र परराष्ट्र नीति अपनाएर आफ्नो निर्णय आफैँ गर्ने एउटा दिशा सरकारले समातेको छ,यो नीति स्थापित गर्नु पहिलो आवश्यकता थियो,’उनले भने।

 

संविधानमा उल्लेख भएका मौलिक अधिकार व्यवहारमा लागू गर्न कानुन निर्माण गरी असोज ३ गतेबाट लागू भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्