चिनियाँ मिडियाले सच्चायो गल्ती, भन्यो–‘सगरमाथा नेपाल–चीन सीमामा’



काठमाडौं : चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा परेको दाबी गरेकामा अहिले त्यसलाई संशोधन गरेको छ ।

यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरा स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले त्यसलाई सच्चाएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले ट्वीटमा भनेको छ–‘नेपाल–चीन सीमामा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा १ मे को शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’

यसअघि २ मेमा सीजीटीएनले भनेको थियो–‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’

सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको थियो ।

यसअघि सगरमाथाको उचाइ सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेंयरको टोली सगरमाथाको चुचुरोमा पठाएको बताइएको छ । चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो ।

लामो समयदेखिको सगरमाथाको उचाइसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो ।

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाइ चट्टान भएसम्मको भागलाई मान्ने अथवा हिउँको चुचुरोलाई मान्ने भन्ने विषयमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्