प्रियंका गान्धीको राजनीतिक यात्रा सुरु



लखनउ (भारत) । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी छन् । 

उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त भएकी गान्धी सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्यालीमा सहभागी भएकी हुन् । 

बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले र्याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए । 

कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए । 

लखनउ उच्च अदालतदेखि कांग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार हात उठाएर बाटो वरिपरि उपस्थित शुभचिन्तकलाई अभिवादन गरेकी थिइन् । 

उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी भएकी ४७ बर्षीया गान्धीलाई उनका श्रीमान्ले पनि ‘नयाँ यात्रा’का लागि शुभकामना व्यक्त गरेका छन् । 

श्रीमान रोबर्ट बाद्राले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरोलागि सबैभन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेबार आमा पनि हो ।’ 

‘जनताको सेवा गर्न प्रियंकालाई सफलता मिल्नेछ र त्यसका लागि हामी सबैले साथ र सहयोग गर्नुपर्दछ, म त्यसका लागि आग्रह गर्दछु’ उनले फेसबुकमा लेखेका छन् । 

राजनीतिमा प्रियंकाको प्रवेशलाई आसन्न निर्वाचनबाट पार्टीलाई फेरी सत्तामा पुर्याउने बलियो कडीका रुपमा व्याख्या गरिएको छ । 

लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय कांग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ । 

झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन् भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्