मक्किँदै अशोक स्तम्भ, सतर्कता अपनाउन कसैको ध्यान गएन



कपिलवस्तु : संरक्षणमा ध्यान नदिँदा लुम्बिनीस्थित अशोक स्तम्भ मक्किन थालेको छ । बढ्दो प्रदूषण र हानिकारक कण टाँसिएकाले स्तम्भ दिनप्रतिदिन कमजोर बन्दै गएको पुरातत्त्वविद्ले जनाएका छन् । 

‘३ वर्ष लगाएर गरिएको अध्ययनले स्तम्भमा विभिन्न हानिकारक तत्त्व टाँसिएको देखाएको थियो,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘अहिले दोब्बर प्रदूषण बढेकाले झन् असर परेको छ ।’ यो अध्ययन २ वर्षअघि भएको थियो ।युनेस्कोका परामर्शदाता तथा स्टोन विशेषज्ञ कन्स्ट्यान्टिनो म्युचीले स्तम्भको सूक्ष्म अध्ययन गरेका थिए ।

स्तम्भमा आईआर क्यामरा र अत्याधुनिक उपकरण जडान गरेर अनुसन्धान गर्दा सिमेन्टका कण, जिप्सम, क्रिस्टल र साना ढुंगा टाँसिएको पाइएको थियो । स्तम्भको बाहिरी क्षेत्रमा सल्फर, धूवाँ, धुलो, प्लास्टिकका टुक्रा पाइएको थियो ।

पुरातत्त्वविद्ले यस्ता हानिकारक तत्त्वबीच रासायनिक प्रतिक्रिया भएर स्तम्भ क्षयीकरण भएको बताएका छन् । यो स्तम्भ हल्का फुक्का रङको बलौटे ढुंगाको हो । यसमा रासायनिक कणले धेरै असर गरिरहेको हुन्छ । तत्काल नदेखिए पनि दीर्घकालमा असर पुर्‍याउने पुरातत्त्वविद्को भनाइ छ ।

म्युचीले आफ्नो प्रतिवेदनमा सतर्कताअपनाउन सुझाव दिए पनि त्यसतर्फ ध्यान गएको छैन । यहाँ आउने भिक्षु–भिक्षुणी र उपासक–उपासिकाले गर्ने पूजाका कारण खुला आकाशमुनि रहेको यो स्तम्भमा असर परिरहेको छ । थाइल्यान्डका भक्तजनले स्तम्भमा परफ्युम छर्कन्छन् ।

श्रीलंकालीले आफ्नो मुलुकबाट ल्याएको दूधले पखाल्छन् । मधेसमा बसोबास गर्ने नेपालीले खाने तेल छर्कन्छन् । यस्ता तत्त्वले स्तम्भलाई नकारात्मक असर पुर्‍याउने विज्ञहरूको भनाइ छ । यसको असली रङ हराउँदै गएको छ ।

भारतीय सम्राट् अशोक बुद्धस्थलमा तीर्थाटन गर्न आउँदा मुलुकका ३ स्थानमा स्तम्भ गाडेका थिए । तीमध्ये लुम्बिनीको अशोक स्तम्भ कम क्षति भएकामा मानिन्छ । जमिनमाथि ३० फुट साढे १० इन्च अग्लो यो स्तम्भ डेढ मिटर अग्लो फलामे बारले घेरिएको छ । माथिपट्टिको खुला ठाउँबाट सबैले पूजा सामग्री र प्रसाद फाल्दा यसमा असर पर्ने गरेको छ । स्तम्भमा चढाइएको तेलको चिल्लो लामो समयसम्म जाँदैन ।

 

सर्वसाधारण र धर्मावलम्बीले चढाएकाफलाम, तामा र चाँदीका सिक्काले स्तम्भमा चोट लाग्ने गरेको छ । त्यसक्रममा स्तम्भबाट धुलो झर्ने गरेको छ । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्