महिनावारी रोकिएको ४ वर्षपछि आमा बनिन् ५४ वर्षीया महिला



काठमाडौं : राजधानीकी एक महिला महिनावारी सुकेको ४ वर्षपछि आइतबार आमा बनेकी छन् । ५४ वर्षीया ती महिला मुलुक मै टेष्ट ट्युब बेवी प्रविधिबाट आमा बन्न सफल भएकी हुन् ।

‘इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि अर्थात् टेष्ट ट्युव बेवी प्रकृयाबाट महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयौँ’, ललितपुरस्थित अल्का आइभीएफ एण्ड फर्टिलिटी सेन्टरका आइभीएफ विशेषज्ञ डा. नुतन शर्माले भनिन्,‘एकवर्ष देखि उनी हाम्रो केन्द्रमा बाँझोपनको उपचार गराइरहेकी थिइन् ।’

डा. शर्माका अनुसार मुलुकको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण समेत ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो ।

ती महिलाको आइतबार राती ९ बजे काठमाडौंस्थित बयोधा अस्पतालमा जुम्ल्याह सन्तान भएको हो । छोरीको तौल १ दशमलव ६ किलोग्राम र छोराको १ दशमलव ४ किलोग्राम छ ।

‘हाल आमा र बच्चाहरुको स्वास्थ्य राम्रो छ’, डा. शर्माले अगाडी थपिन्,‘उच्च रक्तचापका कारण थप स्वास्थ्य जोखिमबाट जोगाउन निर्धारित समय अगावै झण्डै ३७ साता मै शल्यक्रियाद्वारा बच्चा निकालिएको हो ।’

बढी उमेर समूहका ती महिलालाई सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार सुरु गरेको जनाउँदै डा. शर्माले हाल बाँझोपनको समस्या भएकाहरुको समेत मुलुक मै उपचार सम्भव रहेको बताइन् । तर सन्तानको चाहना राख्ने महिलाले भने समय मै चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्