गुर्जा अपडेट: ७ जनाकाे मृत्यु, २ जना वेपत्ता, शव देखिए पनि कसैकाे उद्धार हुन सकेन



पर्वत : म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जनामध्ये ७ जनाको मृत्यु भएको छ। 

 

पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित ९ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए।

 

उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए।

 

यद्यपी सिम्रिक एयरको हेलीकोप्टरबाट आज बिहान गरिएको अनुगमनका क्रममा ट्रेकिङ गाइड लाक्पा शेर्पाले आठ जनाको शव देखिएको बताए। हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। 

 

उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ। टोलीमा रहेका ९ जनामध्ये ७ जनाको शव देखिएको भएपनि दुईजनाको अवस्थाबारे पत्ता लाग्न नसकेको बताइएको छ। 

घटनामा परी मृत्यु भएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन। घटनामा परी मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरुको खोजी गर्न आज बिहान ८ बजे सिम्रिक एयरको हेलिकप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भएपनि मौसमको खराबी र हेलीकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकको अभावमा हेलिकोप्टर फर्किएको थियो। 

 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार घटनास्थलमा देखिएका शवहरुलाई निकाल्न र बेपत्ता रहेका दुईजनाको खोजी गर्न गृह मन्त्रालयको समन्वयमा भोलि बिहान ७ बजेपछि फेरि पनि सिम्रिक एयरको हेलिकोप्टरलाई बोलाइएको छ। 

 

उक्त हेलिकोप्टरमा प्राविधिकहरु रहनेछन्। यही असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको थियो।

 

त्यसमध्येका एकजना कोरियन नागरिक आफूलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका थिए। यही असोज २१ गते यात्रा प्रारम्भ गरेको टोली असोज २५ गते बिहानबाट सम्पर्क बिहीन भएको थियो। 

 

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो। 

 

 म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा रहेको गुर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेको छैन । 

दक्ष जनशक्ति र उपकरण नहुँदा बेपत्ता पर्यटकको शव देखिएपनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्