रौतहट : माघको अन्त्यतिर परेको वर्षाले रौतहटमा करौंडो मूल्यको इँटा नष्ट भएको छ । माघ २५ र २६ मा परेको वर्षाले रौतहटमा करिब ५० करोड रुपैयाँभन्दा बढीको इँटा नष्ट भएको रौतहट इँटा उद्योग सङ्घका अध्यक्ष विनोद साहले बताए ।
उद्योगमा पोल्न तयारी राखिएका काँचो इँटा वर्षाले क्षति पुर्याएको हो । रौतहटको प्रत्येक इँटा उद्योगमा १० देखि २० लाख रुपैयाँसम्मको क्षति पुगेको अध्यक्ष साहको भनाइ छ ।
हरेक वर्ष वर्षाका कारण इँटा उद्योगमा क्षति पुग्ने गरेको भए पनि सरकारबाट अहिलेसम्म क्षतिपूर्ति नपाएको उनको गुनासो छ । उनले वर्षाले इँटा उद्योगमा ठूलो क्षति पुर्याएकाले सरकारसँग क्षतिपूर्तिका रूपमा भ्याट रकम र आयकरमा छुट उपलब्ध गराउन माग गरे ।
रौतहटमा १ सय ५७ इँटा उद्योग छन् । उक्त उद्योगले करिब १५ करोड ७० लाख भ्याट तथा करिब ४ करोड आयकर बुझाउँदै आएको इँटा उद्योग सङ्घले जनाएको छ । त्यस्तै यहाँका इँटा उद्योगले २५ हजारभन्दा बढीलाई रोजगारी दिएको बताइएको छ ।
सङ्घका सचिव तथा रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहले एउटा काँचो इँटा तयार गर्न दुईदेखि तीन रुपैयाँसम्म खर्च हुने बताए । वर्षाले क्षति पुर्याएकाले उद्योगमा आवश्यक कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउन र करमा छुट दिनुपर्ने उनको माग छ ।
उद्योग स्थापना गर्न दुईदेखि चार करोड रुपैयाँ लाग्ने हुँदा वर्षाले काँचो इँटामा क्षति पुर्याउँदा बैंकबाट लिएको ऋणको किस्ता तिर्नसमेत समस्या आएको उद्योग सञ्चालकहरूको गुनासो छ ।