हिमपात रोकिए पनि जनजीवन कष्टकर, हिउँ पग्लिने पर्खाइमा सर्वसाधारण



मनाङ : तीन सातादेखिको झरी र हिमपातका कारण अस्तव्यस्त मनाङवासीको जनजीवन अझै सामान्य बन्न सकेको छैन । अहिले झरी र हिमपात रोकिएको भए पनि हिउँ पन्छाउन नसक्दा मनाङमा यातायात सेवा ठप्प छ । पहिरो, ढलेका रुख र चट्टानका कारण तीन सातादेखि मनाङमा सवारी आवागमन ठप्प छ । यातायात अवरुद्ध भएकाले खाद्यान्न आपूर्ति समेत हुन सकेको छैन ।

 

लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको दानाक्युसम्म मुस्किलले सवारीसाधन चलेका छन् । दानाक्युमाथि सवारीसाधन जान सकेका छैनन् । हिउँदे वर्षाले तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोलानजिकै ढुंगा पल्टिएर बाटो अवरुद्ध भएको छ । हिउँ अझै पग्लिन नसकेकाले पैदल यात्रुका लागि समेत हिँड्ने बाटो छैन । यातायात नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् ।

 

स्थानीयले यसअघि सञ्चित गरेर राखेको खाद्यान्न प्रयोग गरिरहेका छन् । हरियो तरकारी, गोलभेडा, मासुलगायत सामाग्रीको अभाव भएको छ । दानाक्युबाट बोकाएर लगेको सामान तिमाङ, चामे र ढिकुरपोखरीमै सकिँदा माथिल्लो क्षेत्रमा पुग्न सकेको छैन । सवारीसाधन रोकिए पनि दैनिक १०–१५ जना पर्यटक हिँडेरै मनाङ पुग्ने गरेका छन् । चामेदेखि मनाङसम्म सवारीसाधनमा साढे २ घण्टामा आउनेहरू अहिले २ दिन हिँड्न बाध्य छन् ।

 

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार हिउँ नपग्लेसम्म सवारीसाधन गुड्न सक्ने अवस्था छैन । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुंगा फुटाएर पहिरो हटाउने तयारी गरिएको छ । 

 

सरकारी कार्यालयदेखि बजारसम्म आउजाउ गर्न सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर हिउँ पन्छाएर बाटो खुलाइएको प्रजिअ देवकोटाले बताए । यातायात नचले पनि तत्कालका लागि जिल्लामा खाद्यान्न अभाव नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्