म्याग्देली चेली इन्दुको ‘दिलराजा दिलरानी’



बेनी : म्याग्दी  नेपाली गीतसंगीतको क्षेत्रमा सफलताका पाइला चाल्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको नयाँ सांगीतिक कोसेली ‘दिलराजा दिलरानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘दिलराजा दिलरानी’ गीतले बजारमा सफलता पाउने अपेक्षा इन्दुको छ । सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै स्थापित गायिकाको रुपमा चर्चा पाएकी इन्दुका यसअघि सार्वजनिक भएका गीत श्रोताले मन पराएका छन् ।

सुमन श्रापितको शब्द रचना, गम्भीर बिष्टको भिडियो निर्देशन, बिबी अनुरागीको संगीत रहेको यस म्युजिक भिडियोमा अहिलेका चर्चित नायक, नायिका पल शाह र आँचल शर्मालाई पनि  देख्न सकिन्छ । युगल स्वर रहेको गीतको गायनमा इन्दुलाई अनुरागीले साथ दिएका छन् । 

इन्दुले ‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हु् । ‘सबै गुमाएर बरु’ गीत सार्वजनिक भएपछि उनको गायकीको चर्चा चुलिएको हो । रेखा कौशल रेग्मीको शब्द रचना रहेको ‘सबै गुमाएर बरु’ गीतले इन्दुलाई म्याग्दीमा मात्रै नभएर देशविदेशमा समेत परिचित गरायो ।

त्यसपछि ‘राम कसम चट्टै’ बोलको गीत बजारमा आएपछि उनको ख्याति चुलियो । त्यसपछि ‘गाई चराउने पाखैमा’  बोलको गीत रेकर्ड गराएकी इन्दु सर्वोत्कृष्ट नवगायिका अवार्डद्वारा सम्मानित भइसकेकी छन् । ‘गाई चराउने पाखैमा’ गीतबाट इन्दु राप्ती म्युजिक अवार्ड २०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम संगीत विधाको अन्तिम ५ सम्म छानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्