दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु



नयाँ दिल्ली : दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नि नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् । 

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार बिहान ४ः३० बजे सो आगलागी भएको थियो । तत्काल बारूण यन्त्रसहित केही अग्निनियन्त्रक त्यसतर्फ गए पनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उपआयुक्त एमएस रान्धावाले बताए ।

विभागका प्रमुख अतुल गर्गले भने, 'सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई बिहान ४ः३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो ।'  उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चारजनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ । आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उपआयुक्त रान्धावाले भने, 'आगलागीबाट घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।' 

आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रम गरेकाे आफूलाई जानकारी भएको रान्धावाले बताए ।

प्रतिक्रिया दिनुहोस्