बाल सुधारगृहबाट छ जना फरार



भैरहवा : यहाँस्थित बाल सुधारगृहबाट छजना थुनुवा र कैदी भागेका छन् । सोमबार मध्यराति गृहको आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु भागेका हुन् ।

बालगृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही, देवदह–७ का १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका प्युठान, नौबाहिनी–४ का १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका  पाल्पा तानसेन–३का १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामा एक महिना कैद सजाय भुक्तान गरिरहेका स्याङ्जा, विरुवा गाउँपालिका–४ का १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उदयपुर, गाईघाट नेपालटार–३का १७ वर्षीय सिद्धार्थजंग लामा र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला बुटवल–८ का १५ वर्षीय राजेश सुनार ।

उमेर १८ वर्ष मूनिका पुरुष कैदी र थुनुवालाई भैरहवास्थित बालसुधार गृहमा राख्ने गरिएको छ । सुधारगृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिन्छ। त्यही मौका छोपी उनीहरु योजनावद्ध रुपमा भागेका बालसुधार गृहकी प्रमुख सुभद्रा गौतमले जानकारी दिइन् ।

फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै प्रहरीले व्यापक खोजी गरिरहेको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्