नेकपा म्याग्दीले ‘जनयुद्ध’ दिवस मनाउने



म्याग्दी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीले २४औं ‘जनयुद्ध’ दिवस मनाउने भएको छ । सो पार्टीको जिल्ला संयन्त्र तथा प्रदेश सदस्यको सोमबार बेनीमा बसेको बैठकले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने निर्णय गरेको नेता गोविन्द पौडेलले जानकारी दिए । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सामान्तवादको अन्त्य र गणतन्त्र स्थापनाको उद्देश्य राखेर सशस्त्र युद्ध सुरु गरेको थियो । 

केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह स्तरमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउने केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि मनाउन लागिएको नेता पौडेलले बताए । सशस्त्र युद्धको नेतृत्व गरेको तत्कालीन माओवादी र नेकपा एमालेले २०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा तालमेल गरेका थिए भने २०७५ जेठ ४ मा पार्टी एकताको घोषणा गरेका थिए । एमाले र माओवादीको एकतापछि पार्टीको नाम नेकपा बनेको छ । 

 

प्रतिक्रिया दिनुहोस्